पर्याप्त वर्षा नभएपछि रामेछापका किसानले खेत रोप्न पाएनन्, कृषि ज्ञान केन्द्र भन्छ ४४ प्रतिशत रोपाइँ सकियो

  • प्रकाशित मिति: बुधबार, साउन ३ २०८०
  • तामाकोशी

रामेछाप । पर्याप्त वर्षा नभएपछि रामेछापका धेरै ठाउँका किसानले साउनमा पनि खेत रोप्न पाएका छैनन् । असारमा नै रोपाइँ सक्नु पर्ने धान उत्पादन बढी हुने जिल्लाका विभिन्न स्थानका फाँटहरू समेत साउन लाग्दा पनि बाँझै छन् । पानी नपरेको कारण खेत रोप्न नपाएपछि किसान चिन्तित बनेका छन् । कति ठाउँमा किसानले भल आएको बेलामा भल छोपेर धान रोपेका छन् । केहीले तामाकोसी नदीको पानी पम्प लगाएर तानेर पनि खेत रोपेका छन् ।

भल छोपेर र नदीको पानी तानेर खेत रोपेका किसानले पनि खोलामा पानी नआएपछि धान रोपेको खेतमा पानी लगाउन सकेका छैनन् । जसले गर्दा किसान दुःख गरेर धान रोपेको खेत पनि पट्पटी फुट्न थालेको छ । यो वर्ष पानी नपरेको कारण अहिलेसम्म खेतमा रोपाइँ नभएको मन्थली नगरपालिका–९ पुरानागाउँका राम बहादुर श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘‘विगतका वर्षहरूमा ८० प्रतिशत भन्दा बढी खेतमा रोपाइँ सकेर साउने सङ्क्रान्ति मनाइन्थ्यो । यो वर्ष मूल नफुटेका कारण रोपाइँ सुरु नै भएको छैन । अझै पानी पर्ला र मूल फुट्ला अनि ढिलै भए पनि खेत रोपौला भन्ने आस छ ।’’
कृषि ज्ञान केन्द्र रामेछापका अनुसार असार मसान्तसम्म रामेछापमा ४४ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । लेकाली पालिकाहरू सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा बढी मात्रामा रोपाइँ भएको र सबै जोड्दा जिल्लामा असारसम्म ४४ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र रामेछापकी कृषि विकास अधिकृत मोनिमा योन्जनले बताउनुभयो । ‘यो वर्ष रामेछापमा पर्याप्त वर्षा भएको छैन, जसका कारण यो बेलासम्म जति रोपाइँ हुनुपर्ने थियो त्यो परिणाममा हुन सकेको छैन’, उहाँले भन्नुभयो । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार गत वर्ष असार मसान्तसम्म ५० प्रतिशत भन्दा बढी खेतमा धान रोपाइँ सकिएको थियो । रामेछाप जिल्लामा ७ हजार ८५९ हेक्टर खेतमा धान रोपाइँ हुने गरेको छ । अहिलेसम्म तीन हजार ४५८ हेक्टर खेतमा धान रोपाइँ भएको छ ।