नवराज वि.क
रामेछाप । रामेछाप नगरपालिका–३ साँघुटारस्थित बाँकिमेरी–रिठ्ठाबोट–चण्डी डाँडा सडक स्तरोन्नति आयोजनाको काम उपभोक्ता समिति, अनुगमन समिति र प्राविधिकको लापरबाहीले लथालिङ्ग बनेको छ ।
४० लाख रुपैयाँको लागतमा अघि बढाइएको सडक स्तरोन्नति आयोजनाको काम नगरपालिकाको अनुगमन समिति, सम्बन्धित वडा अध्यक्ष, प्राविधिक लगायतको टिमले तीन पटक अनुगमन गरेको थियो । त्यसपछि उपभोक्ता समितिले सार्वजनिक सुनुवाइ लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरेर भुक्तानी लिने तयारी गरेको थियो । तर सोही वडाका निवर्तमान वडा अध्यक्ष भूपालराज श्रेष्ठ लगायतको टोलीले उपभोक्ता समितिले ५० प्रतिशत मात्रै काम भएको र त्यो पनि गुणस्तरहीन काम भएको दाबी गर्दै आयोजनाको भुक्तानी रोक्न नगरपालिकामा उजुरी दिनुभएको थियो । आयोजनाको विरुद्ध उजुरी परेपछि नगरपालिकाले छानबिनका लागि टोली खटाएको थियो ।
रामेछाप नगरपालिकाको योजना शाखाका इन्जिनियर प्रवीण गिरीले स्टमेट बमोजिम आयोजनाको काम नभएको स्वीकार गर्नुभयो । यसको मुख्य दोषी प्राविधिक र उपभोक्ता समिति भएको गिरीले बताउनुभयो । ‘गुणस्तरहीन सामानको प्रयोग गरेर निर्माण गरिएको १७ मिटर ढलानको कामलाई स्थानीय र सर्वदलीय पक्षसँगको सहमतिमा मान्यता दिइएको हो’, उहाँले भन्नुभयो । गल्ती गर्ने प्राविधिकलाई स्पष्टीकरण सोधिने समेत उहाँले बताउनुभयो ।
नगरबाट प्राविधिक, योजना अधिकृतसहितको टोलीले अनुगमन गरेपछि आयोजनाको काम गुणस्तरहीन भएको प्रतिवेदन नगरपालिकामा पेस गरेको थियो । त्यसपछि असार १४ गते बिहीबार उप–प्रमुख बाल कुमारी कार्की, लेखा अधिकृत मदन सुबेदी, योजना शाखाका छैटौँ अधिकृत नारायण कार्की, इन्जिनियर प्रवीण गिरी सहितको टोलीले योजनाको छानबिन गर्नुभएको थियो । तर यो अनुगमन टोलीले प्राविधिक स्टमेट अनुसार गुणस्तरहीन सामानको प्रयोग गरेर ४२ मिटर आयोजनाको ढलानको काम गरिएकोमा १७ मिटरलाई मान्यता दिँदै २५ मिटरलाई ढलानको कामलाई रद्द गरिदियो । लिखु खोलाको गिट्टी र बालुवा गुणस्तरयुक्त नभएको बताएको नगरको टोलीले त्यहीको सामान प्रयोग गरी निर्माण गरिएको १७ मिटर ढलानको कामलाई मान्यता दिएको र २५ मिटरलाई मान्यता नदिइएको ३ नम्बर वडा कार्यालय साँघुटारका निवर्तमान वडा अध्यक्ष भूपालराज श्रेष्ठले बताउनुभयो । ‘ बाँकी २५ मिटर ढलानको काम क्रसरको बालुवा र गिट्टी प्रयोग गरी सम्पन्न गर्न निर्देशन दिएको नगरको टोलीले १७ मिटरलाई मान्यता दिनुले दोहोरो भूमिका स्पष्ट देखियो’, उहाँले भन्नुभयो ।
श्रेष्ठले नगरको अनुगमन समिति, वडा अध्यक्ष, प्राविधिक र समितिको मिलेमतोमा आयोजनाको काममा लापरबाही भएको बताउनुभयो । प्राविधिक स्टमेटमा ४२ मिटर लम्बाई, ५ मिटर चौडाइ र ८ इन्च मोटाइसहितको ढलान गर्नुपर्ने उल्लेख छ । तर मिलेमतोमा ढलानको मोटाई भाग ८ इन्च हुनुपर्नेमा कतै ४ इन्च, कतै ५÷६ इन्च मात्रै भएको श्रेष्ठले बताउनुभयो । नगरबाट छानबिनको लागि खटिई गएको टोलीले आयोजनाको ६ ठाउँमा नमुना परीक्षण गर्दा मापदण्ड बमोजिम काम नभएको पाइएको उहाँले बताउनुभयो । नगरको टोलीले आयोजनामा गुणस्तरहीन सामानको प्रयोग गरेको पुष्टि गरिसकेको उहाँको भनाई छ । वडा अध्यक्ष दल बहादुर प्रधानले ढलान गर्ने बेलामा आफू स्वयम रहेको बताउनु भएको उल्लेख गर्दै श्रेष्ठले आफ्नै अगाडि आयोजनाको काममा अनियमितता हुँदा पनि मौन बस्नुले वडा अध्यक्षको पनि संलग्नता रहेको पुष्टि हुने बताउनुभयो ।
स्थानीय पूर्ण बहादुर महतले पनि अनुगमन टोलीले गरेको योजनाको शैलीको प्रभावकारिता र गुणस्तरबारे थप संशय उत्पन्न भएको बताउनुभयो । महतले राज्य सम्पत्तिको दुरुपयोग गरेर योजना अनुगमनमा निस्किने अनि योजनाको गुणस्तरीयता र प्रभावकारिताको बारेमा अध्ययन नै नगर्ने हो भने यस्तो अनुगमनको कुनै औचित्य नहुने पनि टिप्पणी गर्नुभयो । ३ नम्बर वडा कार्यालय साँघुटारकी प्राविधिक सङ्गीता थापाले पनि योजनामा त्रुटि भएको स्वीकार गर्नुभयो । रामेछाप नगरपालिकाको योजना शाखाका इन्जिनियर प्रवीण गिरीले स्टमेट बमोजिम आयोजनाको काम नभएको स्वीकार गर्नुभयो । यसको मुख्य दोषी प्राविधिक र उपभोक्ता समिति भएको गिरीले बताउनुभयो । ‘गुणस्तरहीन सामानको प्रयोग गरेर निर्माण गरिएको १७ मिटर ढलानको कामलाई स्थानीय र सर्वदलीय पक्षसँगको सहमतिमा मान्यता दिइएको हो’, उहाँले भन्नुभयो । गल्ती गर्ने प्राविधिकलाई स्पष्टीकरण सोधिने समेत उहाँले बताउनुभयो । रामेछाप नगरपालिका उप–प्रमुख तथा योजना अनुगमन समितिकी संयोजक बाल कुमारी कार्कीले योजनामा अनियमितता भएको स्वीकार गर्नुभयो ।
योजनाको काम भइरहेको बेला आफू दुई पटक पुगेको बताउँदै उहाँले पर्खाल र सिलिङको काम राम्रो भए पनि ढलानको काम स्टमेट बमोजिम नभएको बताउनुभयो । ‘समितिले रातिको समयमा काम गरेको कारण प्राविधिक फिल्डमा पूरा समय नबस्दा गुणस्तरहीन काम भएको देखियो, गुणस्तरहीन ४२ मिटर ढलानको काम मध्ये १७ मिटरलाई प्राविधिक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयसहितको सहमतिमा मान्यता दिइएको हो’, उहाँले भन्नुभयो । उहाँका अनुसार बाँकी २५ मिटर ढलान पुनः गर्ने सहमति भएको छ । गुणस्तरहीन काम हुनुको मुख्य दोषी प्राविधिक र उपभोक्ता समिति भएको उहाँले बताउनुभयो । प्राविधिक स्थायी कर्मचारी भएकोले कुनै कारबाही गर्न नसकिने भन्दै उप–प्रमुख कार्कीले अन्यत्र सरुवा गर्ने उहाँले बताउनुभयो । त्यो भन्दा बढी केही गर्न सकिन्छ जस्तो लाग्दैन यो विषयमा बुझ्दै छु धेरै थाहा छैन भन्दै उप–प्रमुख कार्कीले अविज्ञता प्रकट गर्नुभयो ।