रामेछाप । नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष कृष्ण गहतराजको दुःखद निधन भएको छ । सदरमुकाम मन्थली स्थित आफ्नै निवासमा बिहीबार बिहान ८ बजेको समयमा ब्याडमिन्टन खेलेर घर आउन बित्तिकै छाती दुखेको बताएपछि उहाँलाई तत्कालै मन्थली स्थित तामाकोसी अस्पताल पु¥याइएको थियो ।
तर अस्पताल पु¥याउन साथ डाक्टरले गहतराजको निधन भएको घोषणा गरेको नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ जिल्ला कार्यसमिति रामेछापका सचिव सिताराम लोहारले बताउनुभयो । अध्यक्ष गहतराजको हृदय घातका कारण निधन भएको डाक्टरले बताएको सचिव लोहारले बताउनुभयो । सचिव लोहारका अनुसार ब्याडमिन्टन खेलेर घर फर्किएका अध्यक्ष गहतराजले बिहीबार बिहान ८ बजेतिर छाती दुखेको बताउनुभएको थियो । लगत्तै अस्पताल लैजान मोटरसाइकल चढ्दा मोटरसाइकलबाट लड्नुभएको थियो । त्यसपछि अटोमा हालेर तामाकोसी अस्पताल पु¥याएपछि डाक्टरले नरहेको बताएका थिए । दुई दशकदेखि मन्थलीमा श्रीकृष्ण सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका अध्यक्ष गहतराजको पुर्खौली घर काठमाडौँ हो । गहतराज हालै नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको केन्द्रीय सदस्य बन्नुभएको थियो । अध्यक्ष गहतराजको शवलाई अहिले काठमाडौँ उहाँको घरमा राखिएको छ। गहतराजको छोरी अस्ट्रेलिया रहेकाले छोरी आएपछि मात्रै दाहसंस्कार गरिने सचिव लोहारले बताउनुभयो । सुनचाँदी व्यवसायबाट राम्रो छवि बनाएका गहतराजको निधनले रामेछापका सुनचाँदी व्यवसायी सहित अन्य व्यवसायी बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल सहित सदरमुकाम मन्थली बजार शोकमा डुबेको छ ।