नवराज वि.क
रामेछाप । आकर्षक खेल मैदान, स्वच्छ पिउने पानी, सुविधा सम्पन्न विद्यालय भवन र बालमैत्री वातावरण विद्यालयका आधारभूत मेरुदण्ड हुन् । सिकाइको पहिलो पाठशाला मानिएको घरबाट पाइला चाल्न र तोते बोली बोल्दै सिकाइको अभ्यास गरिरहेका बालबालिकालाई क, ख, बाह्रखरी र ए, बी, सी, डी जस्ता अक्षर चिनाउनका लागि पठाउने थलो हो; विद्यालय ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको ध्यान विद्यालयको गुणस्तर सुधारमा भन्दा पनि आर्थिक विचलन ल्याएर कसरी आफूले विद्यालय खातामा रहेको रकम आफ्नो हातमा पार्न सकिन्छ ? भन्नेतर्फ केन्द्रित भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर प्रधानले विद्यालयको खातामा रहेको ६ लाख रुपैयाँ मध्ये ३ लाख रुपैयाँ चलाएको पाइएको छ । बजेटको अभाव देखाउँदै वर्षौँदेखि निर्माण सुरु गरिएको विद्यालय भवन अहिले अलपत्र अवस्थामा छ ।
बालबालिकालाई सिकाइमा केन्द्रीकृत गर्ने वातावरण तयार गर्नु विद्यालयको दायित्व हो । यस्तो वातावरणको सिर्जना गर्नु त परकै कुरा विद्यालय व्यवस्थापन समितिको चरम अनियमितताको कारण रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार स्थित बाँकि मेरीमा सञ्चालित श्री कालिका ईश्वरी आधारभूत विद्यालय सङ्कटमा परेको छ ।
यो विद्यालयमा विद्यार्थीको लागि अति आवश्यक खेल मैदान, भवन र स्वच्छ पिउने पानी छैन । छ त केबल दुर्गन्धित ट्वाइलेट र धुलाम्मे कक्षाकोठा । यी सबै कुराको व्यवस्थापन गर्नुपर्ने दायित्व बोकेको विद्यालय व्यवस्थापन समिति चरम अनियमिततातर्फ उन्मुख हुँदा धेरै बालिकाको भविष्य अन्धकार बनेको छ ।
विद्यालय व्यवस्थापनमा देखिएको उदासीनता र खच्किँदो शैक्षिक गुणस्तरका कारण विद्यालयमा विद्यार्थी सङ्ख्या घटेसँगै विद्यालय नै सङ्कटमा पर्दै गएको हो ।
२२ जना विद्यार्थी ६ जना शिक्षक, कक्षा दुईमा एक जना विद्यार्थी छैनन्
श्री कालिकादेवी ईश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक डम्बर प्रधानका अनुसार आठ कक्षासम्म पढाइ हुने यस विद्यालयमा कूल २२ जना विद्यार्थी छन् । ८ जनाको दरबन्दी रहेको यस विद्यालयमा ६ जना शिक्षक छन् ।
अधिकांश कक्षामा ३÷४ जना भन्दा बढी विद्यार्थी छैनन् । विद्यालयको कक्षा २ मा एक जना पनि विद्यार्थी नभएको उहाँले बताउनुभयो ।
तर विद्यालयको यो अवस्थाप्रति कसैलाई चासो छैन । विद्यालय व्यवस्थापन समिति, शिक्षकसँग पनि विद्यालय सुधारका लागि कुनै योजना छैन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको ध्यान विद्यालयको गुणस्तर सुधारमा भन्दा पनि आर्थिक विचलन ल्याएर कसरी आफूले विद्यालय खातामा रहेको रकम आफ्नो हातमा पार्न सकिन्छ ? भन्नेतर्फ केन्द्रित भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर प्रधानले विद्यालयको खातामा रहेको ६ लाख रुपैयाँ मध्ये ३ लाख रुपैयाँ चलाएको पाइएको छ ।
बजेटको अभाव देखाउँदै वर्षौँदेखि निर्माण सुरु गरिएको विद्यालय भवन अहिले अलपत्र अवस्थामा छ । तर विव्यस अध्यक्षले भने विद्यालय खाताको पैसा निकालेर आफैले चलाएको स्थानीय खिल बहादुर प्रधानले बताउनुभयो ।
स्थानीय खिल बहादुरले भने “किन यसरी विद्यालयको पैसा चलाउनु भएको त्यो पैसाले अलपत्र अवस्थामा रहेको भवनको निर्माणको कार्य सकाउनु पर्छ भन्दा तेरो बाउको पैसा खाएको हो ? खेत बेचर व्याज तिर्छु, जा गएर मुद्दा हाल भनेर उल्टै धम्क्याए,” ।
विद्यालयको जग्गासमेत अतिक्रमणमा परेको उहाँले बताउनुभयो ।
यसै गरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर प्रधानले नियम विपरीत ऋण लिएको प्रधानाध्यापक डम्बर प्रधानले बताउनुभयो । “नियमानुसार ऋण लगानी गर्न नमिल्ने भए पनि व्यवहारिक पाटोलाई हेरेर अध्यक्ष प्रधानले ऋण लिनुभएको हो”, उहाँले भन्नुभयो । यस्तै, यस विषयमा बुझ्नका लागि फोन सम्पर्क गर्दा विव्यस अध्यक्षसँग फोन सम्पर्क हुन सकेन ।
यता, रामेछाप नगरपालिका शिक्षा शाखाका अधिकृत नमराज बडूले राज्यको सम्पत्ति कुनै व्यक्तिले चलाउन नपाइने भन्दै विव्यस अध्यक्षले त्यसरी विद्यालय खातामा रहेको पैसा व्यक्तिगत रूपमा चलाएको हो भने यस्तो कार्य गलत भएको बताउनुभयो । त्यस विषयमा नगरपालिकामा उजुरी परेको बताउँदै उहाँले छानबिन प्रक्रिया अघि बढाइने दोषी ठहर भएमा सम्बन्धित व्यक्तिलाई कारबाही गरिने बताउनुभयो ।
विद्यालयको यो अवस्थाबारे शिक्षकमा भने केही चिन्ता देखिन्छ; उनीहरूको चिन्ता भनेको विद्यालय मर्ज भयो भने कहाँ सरुवा गरिदिने हो ? भन्नेमा केन्द्रित छ ।
स्थानीय तहसँग पनि विद्यालय सुधारका लागि कुनै योजना छैन । यसअघि रामेछाप नगरपालिकाले विद्यालयको गुणस्तर सुधार गर्नेमा भन्दा पनि शिक्षक सरुवामा राजनीतिकरण गर्ने चलखेल सुरु ग¥यो । “निर्णयको सर्वत्र आलोचनापछि आफ्नै निर्णयबाट नगरपालिका पछि हट्यो” एक स्थानीयले भने ।
अहिले विद्यालयमा ३ थान कम्प्युटर छन् । ती कम्प्युटर पनि उचित व्यवस्थापनको अभावमा धुलो र जालो लागेर जीर्ण अवस्थामा छन् । विद्यार्थीले कम्प्युटर सिक्न त के छुनसम्म पाउँदैनन् । त्यस कारण ती कम्प्युटरहरू प्रयोगविहीन भएका छन् ।
