रामेछाप । रामेछाप जिल्लाको सन् २०२३ को पहिला ६ महिनाको मानव अधिकारको स्थिति समीक्षा कार्यक्रम शुक्रबार मन्थलीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा भएको कार्यक्रम रामेछाप बारमा अध्यक्ष एवं सञ्जालका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा जिल्ला न्यायाधीवक्ता योगेन्द्रप्रसाद ढुङ्गेलले मानव अधिकारको विषय न्यायाधीवक्ताको कार्यालयसँग सोझै जोडिने विषय भएको बताउनुभयो । पीडितको अधिकारको पक्षमा लड्नुको साथै पिडकको मानव अधिकार संरक्षण गराउने विषय पनि न्यायाधीवक्ताको कार्यालयकै भएको उहाँले प्रष्ट पार्नुभयो । रामेछाप जिल्लाको समग्र मानवअधिकारको अवस्था धेरै चिन्ताजनक नभएको भए पनि घटनाहरू भने बारम्बार भइरहेका उहाँले बताउनुभयो । कार्यालयले यस वर्षको ६ महिनामा ३० वटा विभिन्न मुद्दा अदालतमा चलाएको उहाँले जानकारी दिनुभयो । जसमा हत्याका चार वटा, बलात्कारका सात वटा, बलात्कार प्रयासको एक वटा, बोक्सी आरोप दुई वटा, बालबालिकालाई यातनाका एक वटा मुद्दा भएको उहाँले बताउनुभयो । यसै गरी बहुविवाह र कुटपिटको मुद्दा पनि चलिरहेको उहाँले जानकारी दिनुभयो । अभद्र व्यवहारका २१ वटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा चलाएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक दिलीपकुमार थापाले रामेछाप जिल्लामा आत्महत्याका घटना बढ्दै गएका भन्दै चिन्ता व्यक्त गर्नुभयो । यसलाई नियन्त्रण गर्न नागरिक समाजले पनि सचेतनाका कार्यक्रम चलाउन जरुरी रहेको उहाँले बताउनुभयो । गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले समाजमा अराजकता र राजनीतिमा अपराधीकरण बढ्दै जाँदा मानव अधिकार संकटमा परेको बताउनुभयो । सभ्य समाज निर्माणको विषयमा सबैले नसोच्ने हो भने मानव अधिकार विरुद्धका अपराधका घटना बढ्ने उहाँले बताउनुभयो । कार्यक्रमका अध्यक्ष एवं रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँले नागरिक तथा राजनीतिक अधिकार उल्लंघनका घटना केही कम भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उल्लंघनका घटना बढ्दै गएकाले अबको ध्यान त्यता जानु पर्नेमा जोड दिनुभयो ।इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले ६ महिनामा इन्सेकले संकलन गरेको घटना बारे जानकारी गराउनुभएको थियो । हालसम्म इन्सेकले १० वटा घटना अभिलेखीकरण गरेको र त्यसमा हत्या, बलात्कार लगायतका घटना संलग्न भएको उहाँले जानकारी दिनुभयो ।