खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

  • प्रकाशित मिति: शुक्रबार, असार १ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले यस आर्थिक वर्षमा गरेको कामको प्रभावकारिता विषय सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँ कार्यपालिका कार्यालय माकादुममा सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाइमा विभिन्न ६ बुँदे प्रतिबद्धता जाहेर गरिएको छ । सार्वजनिक सुनुवाइमा कार्यालयबाट प्रवाह हुने सेवा सुधारमा योजना बनाएर अघि बढ्ने, आउने आर्थिक वर्षबाट ड्रोन मार्फत सबै स्वास्थ्य संस्थामा औषधी पु¥याउने, मोबाइल अस्पताल सञ्चालन गर्ने, खाँडादेवी गाउँपालिकामा रिङरोड निर्माण गर्ने, बिमा गरिएका पशु बस्तु मर्दा बिमा कम्पनीले भुक्तानी दिन गरेको ढिलासुस्ती आनाकानीलाई हटाउन पशुपन्छी विकास शाखा मार्फत आवश्यक सहजीकरण गर्ने, अपराध नियन्त्रणको लागि इलाका प्रहरी कार्यालयलाई सबैले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, वडाध्यक्षहरू तथा विषयगत शाखाका प्रमुखले नागरिकले उठाउनुभएको प्रश्नको जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रम चालिरहेको बेला नेपाली कांग्रेसका कार्यकर्ताले कार्यक्रममा अवरोधको प्रयास गरेका थिए । नेपाली कांग्रेसले वडाध्यक्षको चुनाव जितेको वडा नं ६ को एउटा सडकको बजेट काटिएको भन्दै नेपाली कांग्रेसको झण्डा राखेको गाडी लिएर गएका कांग्रेस कार्यकर्ताले हो हल्ला गरेका थिए । उनीहरूले गाउँ पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बोलिरहेको बेला रातो किताबको बजेट किन कटौती गरेको भन्दै खानेपानीको बेतल प्रहार गरेका थिए । कार्यक्रम बिथोल्न जिल्ला सदरमुकाम मन्थलीदेखि नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ता लगिएको थियो । कार्यक्रम स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप फोर्स पुगेपछि मन्थलीबाट गएका तरुण दल र नेविसंघका कार्यकर्ता गाडी लिएर भागेका थिए ।
उनीहरूले हो हल्ला गरेपछि केही समय कार्यक्रम रोकिएको थियो । उनीहरूले गाउँपालिका कार्यालय बाहिर गाउँपालिका अध्यक्ष विरुद्ध नारा लगाउनुको साथै, कार्यालय तोडफोडको प्रयास गरेका थिए । गाउँपालिका अध्यक्ष श्रेष्ठ, वडाध्यक्ष नारायण कार्की लगायतको छलफलमा सहमति भएपछि कार्यक्रम पुनः अघि बढेको थियो । सो वडाको एउटा सडकका लागि २७ लाख रुपैँया बजेट छुट्टिएकोमा उपभोक्ता समिति गठनमा विवाद भएपछि समयमा योजना सम्झौता हुन सकेको थिएन । समयमा नै योजना सम्झौता नहुँदा केन्द्र सरकारले सम्झौता नभएका योजनाको बजेट कटौती गर्दा सो योजना समेत कटौतीमा परेको थियो । रातो किताबमा आएको योजना गाउँपालिका अध्यक्षले राजनीतिक पूर्वाग्रह राखी कटौती गरेको उनीहरूको आरोप छ । खाँडादेवी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र नौ वटा वडा मध्ये सात वटामा एमालेले जितेको एउटा वडा माओवादी केन्द्रले र एउटा नेपाली कांग्रेसले जितेको छ ।