निर्णय सच्याउन पत्रकार महासङ्घ रामेछापलाई प्रेस चौतारीको ४८ घण्टे अल्टिमेटम

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ३२ २०८०
  • तामाकोशी

रामेछाप । प्रेस चौतारी नपाल जिल्ला शाखा रामेछापले आफ्नो निर्णय सच्याउन नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति निकालेर यस्तो चेतावनी दिनुभएको हो ।

विज्ञप्तिमा निकट कुनै दल विशेष पार्टीको कार्यकर्ता भर्ती केन्द्रको रूपमा स्थापित गर्ने गरी प्रेस चौतारीमा आबद्ध योग्य सदस्यलाई शुद्धीकरणका नाममा हटाउने र नयाँ सदस्यताका लागि योग्य पत्रकारलाई समेत सदस्यताबाट वञ्चित गर्ने गरी पत्रकार महासङ्घ रामेछापको असक्षम, अविवेकी र मतियार वर्तमान नेतृत्वले ‘सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड, २०७९’ को बुँदा नं ८, ९, १०, १३ र १४ को ठाडो उपहास गरी प्रतिशोध र पुर्वाग्राहीपूर्ण ढङ्गबाट महासङ्घमा हाल कायम रहेको सरकारी जागिरे, शिक्षक, राजनीतिक दलका नेता, पेसामा नै आबद्ध नरहेका, विभिन्न पेसा व्यवसायमा आबद्ध भएकाको सदस्यता यथावत् राख्ने गरी निर्णय गरेको उल्लेख छ ।



महासङ्घले ४८ घण्टाभित्र माग पुरा नगरे पत्रकार महासङ्घ रामेछापको कार्यालयमा तालाबन्दी गरी कालो झन्डा राख्ने, मापदण्ड विपरीत सदस्यता कायम रहेका सदस्यको नाम सार्वजनिक गर्ने र पत्रकार महासङ्घका प्रतिनिधि सहभागी हुने कार्यक्रममा हस्तक्षेप र बहिष्कार अभियान चलाउने विज्ञप्तिमा उल्लेख छ । त्यसै गरी निर्णय नसच्चिएसम्म पत्रकार महासङ्घका सबै गतिविधि ठप्प गराउने , प्रेस चौतारी नेपालको जानकारीमा रहेका सरकारी सेवामा कार्यरत भएर पनि सदस्यता कायम नै राखिएका सदस्यको सो सम्बन्धमा सम्बन्धित कार्यालयलाई महासङ्घले बनाएको मापदण्डबारे जानकारी गराई कार्यालयमा राजीनामा दिए नदिएको यकिन गर्न सूचना माग गर्ने लगायतका विरोधका कार्यक्रमहरू चरणबद्ध रूपमा सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार महासङ्घले जारी गरेको ‘पत्रकार महासङ्घ सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड, २०७९’ मा समावेश १५ बुँदे मापदण्डको अधीनमा रही सदस्यता शुद्धीकरण र नयाँ सदस्यता सिफारिस गरियोस् भनी प्रेस चौतारी नेपाल रामेछाप र प्रेस सेन्टर रामेछापलेले संयुक्त रूपमा पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापका अध्यक्ष बद्री नयाँघरेलाई २०८० जेठ २८ गते ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।