रामेछाप । प्रेस चौतारी नेपाल रामेछाप र प्रेस सेन्टर रामेछापले आइतबार बिहान नेपाल पत्रकार महासङ्घ रामेछापमा ध्यानाकर्षण पत्र बुझाएका छन् । पत्रकार महासङ्घले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानको अक्षरशः पालना गरी रामेछापमा शुद्धीकरणको काम गर्न दुई सङ्गठनले माग गरेका छन् ।
चौतारीका अध्यक्ष नवराज श्रेष्ठ र सेन्टरका अध्यक्ष निरोज श्रेष्ठले संयुक्त हस्ताक्षर गरी बुझाएको ध्यानाकर्षण पत्रमा महासङ्घले सदस्यता शुद्धीकरणको मापदण्ड जारी गरी देश भरि शुद्धीकरण अभियान सञ्चालन गरेकोमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले त्यसलाई स्वागत गर्दै आएका उल्लेख छ । महासङ्घले तयार गरेको मापदण्ड अनुसार निर्मम ढङ्गले सदस्यता शुद्धीकरण गर्नुपर्ने ध्यानाकर्षण पत्रमा लेखिएको छ । सदस्यता शुद्धीकरण मापदण्ड २०७९ विपरीत हुने गरी नेपाल पत्रकार महासङ्घ रामेछाप शाखा सरकारी सेवामा रहेका, राजनीतिक दलका पालिका र जिल्ला कमिटीमा रहेका, क्रियाशील नरहेका सदस्यको समेत सदस्यता जोगाउने चलखेलमा लागेर राजनीतिक दल र शक्ति केन्द्रमा धाइरहेको कुरालाई गम्भीर रूपमा लिएको दुवै सङ्गठनले जनाएका छन् । ‘नेपाल पत्रकार महासङ्घ कुनै राजनीतिक दलको भातृ सङ्गठन होइन र हुन सक्दैन, नेपाल पत्रकार महासङ्घको सदस्यताको विषयमा कुनै राजनीतिक दल वा त्यसका नेताले गरेको निर्णय हामीलाई स्वीकार्य छैन’, ध्यानाकर्षण पत्र बुझाएपछि जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाल पत्रकार महासङ्घ रामेछापको शुद्धीकरण अभियान कुनै शक्ति केन्द्रको आडमा, कसैको धम्की वा दबाबमा रोक्ने छुट महासङ्घ नेतृत्वलाई नभएको विज्ञप्तिमा जनाइएको छ । ‘तत्काल शुद्धीकरण अभियान निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनुपर्दछ भन्ने कुरामा महासङ्घ नेतृत्वको ध्यानाकर्षण गराउँदछौँ । यदि नेपाल पत्रकार महासङ्घले तय गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अक्षरशः पालना पत्रकार महासङ्घ रामेछापले नगरे त्यसको सशक्त प्रतिकार गर्ने ध्यानाकर्षण पत्रमार्फत चेतावनी दिँदै यसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवार महासङ्घको वर्तमान नेतृत्व हुने कुरा समेत अवगत गराउँदछौँ ’, विज्ञप्तिमा लेखिएको छ ।
