मन्थली नगरपालिकाको सबै वडामा प्रतीक्षालय निर्माण

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २७ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली वडा नं १ ट्राफिक चोकमा नगरपालिकाले प्रतीक्षालय निर्माण गरेको छ । यो प्रतीक्षालय निर्माण भएपछि यो ठाउँबाट अन्यत्र जान बस कुर्न र पैदल हिँड्ने यात्रुहरूलाई विश्राम लिन सहज भएको छ । यो प्रतीक्षालय नगरपालिकाले नगरको एक वडा एक प्रतीक्षालय अवधारणा अन्तरगत पाँच लाख रुपैयाँ लागतमा निर्माण गरेको हो ।

नगरपालिकाको एक वडा एक प्रतीक्षालय बनाउने अवधारणा अन्तरगत १४ वटै वडामा प्रतीक्षालय निर्माण भएको नगरपालिकाको पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्ली बहादुर अधिकारीले बताउनुभयो । नगरपालिकाको सबै वडाको वडा केन्द्र, बजार केन्द्र, मानिसहरू जमघट हुने स्थान र मानिसहरू बस चढ्ने वा झर्ने स्थानहरूको छनोट गरी प्रतीक्षालय निर्माण गरिएको उहाँको भनाइ छ । मन्थली नगरपालिकाको वडा नं १ ट्राफिक चोकमा पाँच लाख रुपैयाँ लागमा प्रतीक्षालय बनाइएको र अरू वडामा दुई÷दुई लाख रुपैयाँ लागतमा प्रतीक्षालय निर्माण गरिएको उहाँको भनाइ छ । मन्थलीको ट्राफिक चोकमा निर्माण भएको अन्य वडाको भन्दा विशेष खालको भएकाले लागत बढी भएको उहाँले बताउनुभयो ।