अब न्यु खिम्ती सवस्टेशनको बिजुली रामेछाप जोडिने

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २७ २०८०
  • तामाकोशी

रामेछाप । आफ्नै जिल्लामा ठुला ठुला जलविद्युत् आयोजना बने पनि ढल्केबर र सिन्धुपाल्चोक स्थित लामोसाँगुको बिजुली प्रयोग गर्नुपर्ने रामेछापका नागरिक बाध्यता अब भने हट्ने भएको छ ।
अबको केही दिनमा रामेछाप जिल्लामा न्यु खिम्ती सवस्टेशनको लाइन जोडिने भएको छ । न्यु खिम्ती सवस्टेशनको लाइन रामेछाप जोड्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । शुक्रवार साँझ रामेछाप सदरमुकाम मन्थली बजारमा जडान गरिएको स्मार्ट सडक बत्ती र हाइमास्ट बत्तीको उद्घाटन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘‘न्यु खिम्तीको काम सम्पन्न हुने चरणमा छ, शनिवारदेखि चार्ज गरेर यसको केही दिनमा रामेछाप जिल्लामा सप्लाई हुन्छ, त्यसपछि पटक पटक बत्ती आउने जाने समस्याको अन्त्य हुन्छ ।’’
रामेछापको मन्थली नगरपालिका–१३ फुलासीमा निर्माण गरिएको उक्त सवस्टेशनको क्षमता २२०÷१३२, १३२÷३३ र ११ केभीको छ । न्यु खिम्ती सवस्टेशनको विद्युत् सप्लाई भएपछि रामेछापमा पटक पटक बत्ती आउने जाने लगायतका लोडसेडिङ समस्याको अन्त्य हुने र विद्युतीय उपकरण हरूमा हाइ भोल्टेजका कारण हुने क्षति पनि कम हुने उहाँले बताउनुभयो ।
‘अहिले रामेछापमा उत्पादन भएको विद्युत् ढल्केबर, काठमाडौँ लगायतका ठाउँमा पुग्ने र ढल्केबरको बिजुली फेरी रामेछापले बाल्नुपर्ने बाध्यता छ, अब यो बाध्यता सधैँका लागि अन्त्य हुन्छ’, उहाँले भन्नुभयो ।
रामेछाप जिल्लाका सबै ठाउँको विद्युत् समस्या अन्त्य गर्नका लागि जिल्लाका विभिन्न ६ स्थानमा सवस्टेशन निर्माण गरिएको र त्यसको उद्घाटन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । ‘गर्जाङ, खिम्ती, ठोसे, साँघुटार, दोरम्बा,राकाथुम, र बाम्तिमा सवस्टेशन निर्माण गरिएको छ, यसको करिब करिब चार्ज पनि भइसकेको र अब यो सबै सवस्टेशनमा न्यु खिम्तीबाट विद्युत् सप्लाई हुन्छ’, उहाँले भन्नुभयो ।
उहाँले करिब करिब देशभरका सबै नागरिकलाई बिद्युत सेवा प्रदान गर्ने गरी विद्युती करण भइसकेकाले नेपा विद्युत् प्राधिकरण घर उज्यालो सँगै सहर उज्यालो कार्यक्रममा लागेको बताउनुभयो । देशभर ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत खर्च भार विद्युत् प्राधिकरणले बेहोर्ने गरी सहर उज्यालो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । उहाँले यही अभियान अन्तरगत रामेछाप सदरमुकाम मन्थली बजार क्षेत्र, वडा नं ८ चिसापानी र सुनापति गाउँपालिकाको बेथानमा स्मार्ट सडक बत्ती र हाइमास्ट बत्ती राखिएको बताउनुभयो । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नगरका धेरै अधिकांश वडाहरूमा खानेपानीको चरम अभाव रहेको र तामाकोसीको पानी लिफ्ट मार्फत तानेर नागरिकले आँत भरिरहेको बताउनुभयो । अति सुख्खा ग्रस्त यस्ता क्षेत्रका नागरिकहरूलाई खानेपानी तान्दा र सिँचाइका लागि पानी तान्नका लागि निः शुल्क विद्युत् उपलब्ध गराइदिन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग माग गर्नुभयो । ‘मन्थली नगरपालिकामै विद्युत् आयोजनाहरू बनेका छन्, यहाँ उत्पादन भएको बिजुली खानेपानी र सिँचाइका लागि यहाँको जनताले निःशुल्क पाउनुपर्छ’, उहाँले भन्नुभयो । नगरपालिकाभित्रका केही ठाउँमा विद्युत् विस्तार गर्नुपर्ने र खानेपानी अनि सिँचाइका लागि ठाउँ ठाउँमा ट्रान्स मिटर राख्नु पर्ने बताउनुभयो ।