रामेछाप । सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा रामेछापको आठ वटा स्थानीय तहको लागि तीन अर्ब २८ करोड ३१ लखा रुपैयाँ बजेट विनियोजन गरेको छ । स्थानीय तहमा समानीकरण, सशर्त, अनुदान, विशेष अनुदान, समपुरक अनुदानसहित सो बजेट विनियोजन गरेको हो । सरकारले रामेछापको दुई वटा नगरपालिकालाई एक अर्ब ९ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गर्दा छ वटा गाउँपालिकालाई दुई अर्ब १९ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेट अन्तर्गत सबै भन्दा बढी १४ वटा वडा रहेको जिल्ला सदरमुकाम मन्थली नगरपालिकाले ६२ करोड ८७ लाख र सबै भन्दा कम बजेट ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकाले ३० करोड ९२ लाख रुपैयाँ प्राप्त गर्ने छ । यस्तै, नौ वटा वडा रहेको जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिकाले ४६ करोड, २२ लाख, नौ वटै वडा रहेको खाँडादेवी गाउँपालिकाले ४३ करोड १२ लाख रुपैयाँ बजेट पाउने छन् । ७ वटा वडा रहेको दोरम्बा सैलुङ गाउँपालिकाले ३५ करोड ८२ लाख, पाँच वटा वडा रहेको सुनापति गाउँपालिका ३४ करोड ३० लाख, ७ वटा वडा रहेको लिखुतामाकोशी गाउँपालिकाले ३७ करोड १६ लाख र ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकाले ३४ करोड ८९ लाख रुपैयाँ बजेट पाउने भएको छ ।