रामेछाप । रामेछापमा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार र यसको नियन्त्रणका बारेमा अन्तरक्रिया भएको छ । पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा जिल्ला समन्वय समिति रामेछापले मङ्गलवार मन्थलीमा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय प्रमुखहरूसँग यसबारेमा छलफल गरेको हो ।
जिल्ला समन्वय समितिले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी एक दिवसीय कार्यक्रम गरी लैङ्गिक हिंसाको अवस्था, लैङ्गिक हिंसा निवारणमा सकारात्मक सोचको भूमिका र कार्यस्थलमा हुने यौन दुर्व्यवहार निवारण सम्बन्धी कानुनी व्यवस्थाका बारेमा कार्यालय प्रमुखहरूलाई जानकारी गराएको हो । कार्यक्रममा समन्वय प्रमुख चिना खड्काले कार्यस्थलमा यौन हिंसा भएमा त्यसको विरुद्धमा उजुरी गर्दा केही हुन्छ कि भनेर सहेर नबस्न सबैलाई आग्रह गर्नुभयो । ‘जिल्लाको जुन सुकै कार्यालयमा यौनजन्य दुर्व्यवहार भइरहेको हुनसक्छ, यदि यस्तो भइरहेको छ भने कुनै पनि डर नमानी पीडितले मलाई भेट्दा हुन्छ’, उहाँले भन्नुभयो । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले कार्यस्थलमा यौनजन्य दुर्व्यवहार भएमा पीडितले आफू कार्यरत कार्यालय व्यवस्थापकलाई उजुरी दिने र त्यसपछि जिल्ला प्रशासनमा उजुरी दिने कानुनी व्यवस्था रहेकाले यस्तो घटना भएमा सोही अनुसार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘‘आफू कार्यरत कार्यालयका जोको कोहीले गर्ने यौनजन्य दुर्व्यवहारलाई सहेर बस्नु हुँदैन । जागिर, सरुवा लगायतका डरले उजुरी गर्न डराउनुपर्दैन, आफू कार्यरत कार्यालयमा उजुरी गर्न नसके सिधै जिल्ला प्रशासनमा उजुरी दिने कानुनी व्यवस्था छ ।’’
जिल्ला समन्वय अधिकारी विनीता भट्टराईले कार्यस्थलमा यौन हिंसाका घटना हुने गरेको भन्ने सुनिए पनि यसको अभिलेखीकरण भने कतै नभएको बताउनुभयो । कार्यस्थलमा यस्ता घटनाहरू भइरहे पनि विभिन्न कारणले सम्बन्धित निकायमा उजुरी पर्न नसकेको उहाँको भनाइ छ । घर, सार्वजनिक स्थान, विद्यालय, कार्यस्थल र सेवा प्रदायक संस्थाहरूमा हुने यौन हिंसा नियन्त्रणका लागि सबै लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले कार्यस्थलमा यौनजन्य दुर्व्यवहार हुन्छ भनिए पनि यसका विरुद्धमा उजुरी परेको तथा कारबाहीको दायरामा ल्याएको अभिलेखीकरण कतै नहुनुले यस्ता घटना हुँदैनन् भन्ने देखाएको बताए । केही महिना अगाडी महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि डिभिजन वन कार्यालय रामेछापका तत्कालीन कार्यालय प्रमुख रामशरण गौतमको मन्त्रालयमा सरुवा भएको थियो । गौतमविरुद्ध वन मन्त्रालयमा यौन दुर्व्यवहार गरेको आरोपसहित जिल्ला प्रशासन कार्यालय रामेछाप र वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई बोधार्थ दिएर उजुरी परेको थियो । तर यस बाहेक रामेछापमा अरू कार्यस्थलमा यौन दुर्व्यवहारको घटना भएको अभिलेखीकरण कुनै पनि निकायसँग छैन ।