सार्वजनिक बिदामा सेवा दिन जिल्ला प्रशासन रामेछापको उदासीनता, गणतन्त्र दिवसमा प्रजिअको नेतृत्वमा जल विहार

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १५ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले गृह मन्त्रालयको परिपत्रलाई नै लत्त्याएकी छिन् । कार्यालयमा हाजिर भएपछि कुनै पनि काम वा कार्यक्रममा एक मिनेट पनि समय खेर नफाल्ने प्रतिबद्धता व्यक्त गर्दै नागरिकको सेवा गर्ने प्रण गरेकी प्रजिअ निरौलाले आफैले प्रकाशन गरेको सूचनालाई समेत लत्त्याएर नागरिकलाई सेवा बाटै वञ्चित गराएकी हुन् ।

गणतन्त्र दिवसको दिन रामेछापमा कुनै औपचारिक कार्यक्रम भएनन् । त्यसको नेतृत्व न त जिल्लाको जननिर्वाचित प्रमुख निकाय जिल्ला समन्वय समितिले ग¥यो न प्रमुख प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालय र त्यसका प्रमुख प्रमुख जिल्ला अधिकारीले नै गरे । गणतन्त्र दिवसको दिन प्रजिअ निरौलाको नेतृत्वमा जिल्ला प्रशासनको दुई वटा, कोलेनिकाको एउटा र मन्थली नगरपालिकाको एउटा गरी चार वटा सरकारी गाडी लिएर जम्बो टोली सुनकोसीमा जल विहार गर्न गएको कुरा सत्य भएको टोलीमा सहभागी एक कर्मचारीले बताए । यस विषयमा सम्पर्क गर्दा प्रमुख जिल्ला अधिकारी निरौलाले पछि कुरा गर्छु भन्ने जवाफ दिइन । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, सूचना अधिकारी अस्मिता बानिया लगायतका जिम्मेवार अधिकारीको फोन उठेन ।

सोमबार गणतन्त्र दिवसको दिन पनि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह गरी जिल्लामा हर्ष उल्लासले भव्यताका साथ गणतन्त्र दिवस मनाउन प्रमुख जिल्ला अधिकारीले प्रमुख भूमिका खेल्नुपर्ने हो । यो गर्नु उनको जिम्मेवारी पनि हो । तर प्रजिअ निरौला अघिल्लो दिन आइतबार गणतन्त्र दिवस मनाउने सम्बन्धी एक सूचना प्रकाशन गरी जिल्ला प्रशासन कार्यालयलाई दुई जना कर्मचारीमा सीमित गराएर रमाइलो गर्न सरकारी जम्बो टोलीको नेतृत्व गर्दै जिल्ला बाहिर गएकी छिन् । प्रजिअको यो कार्यले जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भनी सर्वसाधारणलाई झुक्काएको छ ।
कार्यालयले जारी गरेको सूचना अनुसार चण्डी पूर्णिमा, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उँधौली पर्व, योमरी पुन्हि, तमु ल्होसार, माघी पर्व, सनम ल्होसार, महाशिवरात्रि, ग्याल्बो ल्होसार, इद (इद उल फित्र), बकर इद (इद उल अजाह), गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीका दिन पनि कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी सम्बन्धी सेवा र राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह गर्ने उल्लेख छ । ‘तपसिल बमोजिमका सार्वजनिक सेवाहरू यस कार्यालयबाट प्रवाह हुने बेहोरा जानकारी गराइन्छ’, सूचनामा लेखिएको थियो ।
सो सूचना अनुसार गणतन्त्र दिवसको दिन सोमबार कार्यालयमा सेवा लिन गएका नागरिक कार्यालयमा सेवा लिन जाँदा सेवा नपाएको गुनासो गरेका छन् । कार्यालयमा राष्ट्रिय परिचयपत्रको सेवा बाहेक अन्य सेवा दिने कर्मचारी नपाइएको सेवाग्राहीले गुनासो गरेका हुन् । नागरिकता सम्बन्धी काम लिएर कार्यालयमा गएको भए पनि कर्मचारी नभएको कारण आफ्नो काम नभएको मन्थली नगरपालिका–५ का रामबहादुर कार्कीले बताए । ‘नागरिकताको सानो काम लिएर आएको थिएँ, तर कोही कर्मचारी नभेटिएकोले काम भएन’, कार्कीले भने । वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले सेवा दिन्छु भनेर कार्यालय बन्द गरेर हिँड्ने कुरा गलत भएको बताए । सेवा दिन नसक्ने भए त्यस्तो सूचना जारी गर्नु नहुने उनको भनाइ छ । त्यो भन्दा पनि देश भरी नै गणतन्त्र दिवस भव्य रूपमा मनाउन सर्कुलर भएको अवस्थामा प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारी त्यसको अवज्ञा गरेर हिँड्नु गम्भीर विषय भएको श्रेष्ठले बताए। ‘गणतन्त्र दिवसको सर्कुलर नै नमानेर नमनाउनु गम्भीर राजनीतिक प्रश्न हो’, उनले भने ।