लक्ष्मी आयल स्टोर्स मन्थलीलाई दुई लाख रुपैयाँ जरिवाना(यस्तो छ कारण)

  • प्रकाशित मिति: सोमबार, जेष्ठ ८ २०८०
  • तामाकोशी

रामेछाप । बजार मूल्य विपरीत पेट्रोलियम पदार्थ बेच्ने रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित लक्ष्मी आयल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

रामेछाप उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष केशवप्रसाद घिमिरेले सञ्चालन गरेको लक्ष्मी आयल स्टोर्सले पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले पछिल्लो पटक गरेको मूल्य समायोजन विपरीत उपभोत्तासँग बढी मूल्य असुलिरहेको पाइएपछि जरिवानामा परेको हो । लक्ष्मी आयल स्टोर्सलाई सोमबार उपभोक्ता संरक्षण विभाग रामेछापका निरीक्षण अधिकृत एवं रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे नेतृत्वको टोलीले उक्त जरिवाना गरेको हो । नेपाल आयल निगमले २०८० जेठ ३ गते पेट्रोलियम पदार्थमा गरेको मूल्य समायोजन विपरीत साबिकको मूल्यमा मनलाग्दी पेट्रोलियम पदार्थ बिक्री वितरण गरिएको पाइएपछि उपभोक्ता हक हित संरक्षण २०७५ दफा ३२ को उपदफा १ अनुसार जरिवाना गरिएको उपभोक्ता संरक्षण विभाग रामेछापका निरीक्षण अधिकृत एवं रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । यो आयल स्टोर्सले बजार मूल्य भन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिरहेको लिखित उजुरी आएको र सोही अनुसार अनुगमन गर्दा कानुन विपरीत मनलाग्दी रूपमा बिक्री वितरण गरिरहेको पाइएकाले न्यूनतम जरिवाना गरिएको उहाँको भनाइ छ । लक्ष्मी आयल स्टोर्स मन्थली मिसावट लगायतका घटनामा पटक पटक जरिवानामा परिसकेकाले कानुनको नजरमा पटके अनुसार जरिवाना गरिएको उहाँले बताउनुभयो ।
नेपाल अधिराज्य भरि पेट्रोलियम पदार्थको अभाव नरहेको भन्दै उहाँले रामेछाप जिल्लामा सञ्चालित पेट्रोल पम्पहरूले कृत्रिम अभाव गराइ रहेकाले सबै पेट्रोल पम्पहरूको अनुगमन गरिने र कानुन अनुसार कारबाहीको दायरामा ल्याइने बताउनुभयो । लक्ष्मी आयल स्टोर्सले कानुन अनुसार बिल बिजन नराखेको, कानुनको परिधिभित्र रहेर पालना गर्नुपर्ने कुराहरूको पालना नगरिएको र स्टक हुँदा हुँदै पनि स्टक आउट भयो भन्ने जस्ता कमजोरीहरू गरेको पाइएको उहाँको भनाइ छ । अब एक हप्ताभित्र जरिवाना तिरेर कानुनको परिपालन गर्ने प्रतिबद्धता आउनुपर्ने उहाँको भनाइ छ । यता लक्ष्मी आयल स्टोर्स मन्थलीका सञ्चालक रामेछाप उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरेले भने वास्तविकता नबुझी आफूलाई जरिवाना गरिएको बताउनुभयो । पेट्रोल पम्पको केही कमजोरी नहुँदा नहुँदै पनि जरिवाना गरिनुले आफूमाथि ठुलो अन्याय भएको उहाँको भनाइ छ ।