भ्रष्टाचारका दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ७ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापका मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा क्रियाशील नागरिक समाज तथा सङ्घ संस्थाहरूले नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार सम्बन्धी काण्डहरूमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण लगायत चर्चामा आएका भ्रष्टाचार सम्बन्धी काण्डहरूमा सरकारका विभिन्न तहका केही उच्च पदस्थ व्यक्तिहरू र उनका नातागोता समेत संलग्न भएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको जनाउदै यस्ता आपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथि कडा कारबाही गर्न माग सहितको ध्यानाकर्षण पत्र रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएको छ । आइतबार गैसस महासङ्घ, नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन, ,फेकोफन, इन्सेक, प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर, मानव अधिकार एलाइन्स रामेछाप र भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान लगायतका सङ्घ संस्थाहरूले रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे मार्फत यस नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाहीको माग ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई पठाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले अहिलेका केही घटनाले कानुनको पालना गर्ने भन्दा पनि कानुनको उलङ्घन गर्दा आफ्नो इज्जत बढ्छ भन्ने भन्ने तिर गइरहेको देखिएको बताउनुभयो । आफूहरू कानुन पालना गर्ने र पालना गराउने निकाय भएकाले कानुन बमोजिमका यस्ता कुराहरूमा आफूहरूको सधैँ भरि साथ र समर्थन रहने बताउँदै ध्यानाकर्षण पत्र आजै प्रधानमन्त्री कार्यालयलाई पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ध्यानाकर्षण पत्रमा नीति निर्माता र राज्य सञ्चालकहरू नै मानव तस्करी तथा अन्य भ्रष्टाचारजन्य लगायतका आपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानुनी शासनप्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पु¥याउने विषय भएको र यस्ता आपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथि कडा कारबाही गरिनु पर्दछ भनिएको छ । आम नागरिकमा राज्य व्यवस्था, राज्यका अङ्ग तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, तथा राजनीतिक दलहरूप्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि विभिन्न समयमा, विभिन्न तहमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाहरूको निष्पक्ष र पारदर्शी ढङ्गले छानबिन गर्न, दोषीलाई कानुनको कठघरामा उभ्याउन र मुलुकमा विद्यमान कुनै पनि प्रकारका मानव तस्करी लगायत भ्रष्टाचार नियन्त्रण गर्न ध्यानाकर्षण पत्रमा माग गरिएको छ । ध्यानाकर्षण पत्र बुझाउनु अघि मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा क्रियाशील नागरिक समाज तथा सङ्घ संस्थाहरूले मन्थलीको देवकोटा चोकबाट जिल्ला प्रशासन कार्यालयसम्म भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत नागरिक ¥याली निकालेका थिए ।