मन्थली नगरपालिकाको पाँच वडामा भवन अभाव, चार वडा कार्यालय भाडाको घरमा

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ५ २०८०
  • तामाकोशी

रामेछाप । मुलुक सङ्घीय संरचनामा गएपछि भएको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले पाँच वर्ष भौतिक पूर्वाधारकै क्षेत्रमा बढी बजेट खर्च गरे । यो क्रममा धेरै सडकहरू खनिए, धेरै पालिका तथा वडाहरूमा सुविधा सम्पन्न पक्की भवनहरू निर्माण भए ।

तर रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा अझै धेरै वडाहरू भवन अभावमा धेरै समस्यामा छन् । १४ वटा वडा रहेको मन्थली नगरपालिकाको पाँच वटा वडा भवन विहीन छन् । मन्थली नगरपालिकाका वडा नं ४ सालु, वडा नं ५ सुनारपानी वडा नं ६ भलुवाजोर, वडा नं ९ पुरानागाउँ र वडा नं १२ गेलुमा कार्यालय भवन आवश्यक छ । नगरपालिकामा निर्माणाधीन सहित वडा नं ३ कठजोर, वडा नं ६ भलुवाजोर, वडा नं ११ गेलु र वडा नं १३ फुलासीले भाडाको कोठाबाट सेवा प्रवाह गरिरहेका छन् ।



मन्थली नगरपालिकाको वडा नं २ टेकानपुर, वडा नं १० चनखु र १४ फुलासीमा भवन निर्माण भएको र वडा नं १ मन्थली, वडा नं ३ कठजोर, वडा नं ७ भटौली, वडा नं ८ चिसापानी, वडा नं ११ र वडा नं १३ फुलासीको भवन निर्माणाधीन अवस्थामा रहेको मन्थली नगरपालिका पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्ली बहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणका चरणमा रहेका र भवन अभावका कारण वडा नं ३ कठजोर, वडा नं ६ भलुवाजोर, वडा नं ११ र वडा नं १३ फुलासीले भाडामा कार्यालय सञ्चालन गरिरहेका छन् ।