रामेछाप । रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले यो वर्ष ५१ जना सूचिकृत बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत एक सय दिनको रोजगारी दिने लक्ष्यका साथ काम गरिरहेको छ ।
७ वटा वडा रहेको दोरम्बा सैलुङ गाउँपालिकामा चालु आर्थिक वर्षका लागि ११३ जना नागरिक बेरोजगार सूचिकृत भएका छन् । यो गाउँपालिकालाई चालु आर्थिक वर्ष २०७९÷०८० मा सूचिकृत बेरोजगारलाई रोजगारीका लागि ३२ लाख ९७ हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।
यो गाउँपालिकामा एक वडा एक योजना सम्पन्न हुनुपर्नेमा अहिलेसम्म तीन वटा योजना सम्पन्न भएर भुक्तानी भइसकेको गाउँपालिकाका रोजगार संयोजक भोला पाठकले बताउनुभयो । दोरम्बा सैलुङ गाउँपालिकाले बेरोजगार सूचिकृत नागरिकलाई सडक पूर्वाधार विकासका क्षेत्रमा परिचालन गरेको छ । यो गाउँपालिकाले बेरोजगार सूचिकृत भएका व्यक्तिले दैनिक ६५२ रुपैयाँ दरले ज्याला पाउने गरी एक सय दिनको रोजगारी प्रदान गर्दै आएको छ ।