रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबासका वडा अध्यक्ष मनोज पौडेलमाथि आक्रमण गर्नेलाई तत्काल कानुन अनुसार कारबाही गर्न राष्ट्रिय युवा सङ्घ नेपाल रामेछाप र नेपाल खेलकुद महासङ्घ जिल्ला कमिटी, रामेछापले माग गरेको छ । युवा सङ्घ नेपाल र नेपाल खेलकुद महासङ्घ जिल्ला कमिटी रामेछापले यदि साङ्घातिक आक्रमण गर्ने समूहलाई कानुन अनुसार कारबाही नभएको खण्डमा प्रतिकारमा उत्रने समेत चेतावनी दिएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी सम छापका अध्यक्ष सुरेन्द्र बहादुर कार्की र नेपाल खेलकुद महासङ्घ जिल्ला कमिटी रामेछापका अध्यक्ष तेजराज घिसिङले शुक्रवार संयुक्त प्रेस विज्ञप्ति मार्फत यस्तो चेतावनी दिनुभएको हो । विज्ञप्तिमा २०८० वैशाख २८ गते खाँडादेवी गाउँपालिकाबाट फर्किने क्रममा साँझ ५ः३० बजे नेकपा एमालेको युवा नेता तथा खाँडादेवी गाउँपालिका वडा नं. ५ को अध्यक्ष मनोज पौडेलमाथि खाँडादेवी गाउँपालिका वडा नं. ५ को बिराज श्रेष्ठको नेतृत्वमा आएका २० जनाको अज्ञात समूहले साङ्घातिक आक्रमण गरी कुटपिट गर्नुका साथै निज सवार प्रदेश ३–०२–००१ व १६७४ को मोटरसाइकल तोडफोड गरी विधिको शासन विपरीत कार्य गरेको प्रति राष्ट्रिय युवा सङ्घ नेपाल रामेछाप र नेपाल खेलकुद महासङ्घ जिल्ला कमिटी, रामेछापको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा यस घटना प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उक्त उच्छृङ्खल गतिविधिमा संलग्न समूहलाई यथाशीघ्र कानुनी दायरामा ल्याई दोषी उपर कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । यदि कारबाही नगरिएमा राष्ट्रिय युवा सङ्घ नेपाल रामेछाप र नेपाल खेलकुद महासङ्घ जिल्ला कमिटी, रामेछाप प्रतिकारमा उत्रने समेत जानकारी गराउंदछौं विज्ञप्तिमा भनिएको छ ।
वडा अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही नभए प्रतिकारमा उत्रने चेतावनी
- प्रकाशित मिति: शुक्रबार, बैशाख २९ २०८०
- तामाकोशी