रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका १४८ जना बेरोजगार सूचिकृत नागरिकले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगार पाउने भएका छन् । रामेछापका आठ वटा स्थानीय तह मध्य सबै भन्दा बढी गोकुलगंगा गाउँपालिकामा बेरोजगार छन् । यो गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९÷०८० मा रोजगारीका लागि एक हजार ८२७ जना नागरिक बेरोजगार सूचिकृत भएका छन् । यो गाउँपालिकालाई सूचिकृत बेरोजगारलाई एक सय दिनको रोजगारी सिर्जनका लागि यो वर्ष ९६ लाख ४७ हजार बजेट प्राप्त भएको गाउँपालिकाका रोजगार संयोजक परशुराम कार्कीले बताउनुभयो । ‘जिल्लाका अन्य पालिकामा भन्दा गोकुलगंगा गाउँपालिकामा बढी सूचिकृत बेरोजगार नागरिक रहेको र प्राप्त बजेटले यो वर्ष १४८ जनालाई एक सय दिनको रोजगारी प्रदान गर्ने लक्ष्य अनुरूप काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गोकुलगंगा गाउँपालिकामा यो वर्ष प्रधानमन्त्री रोजगार मार्फत एक लाख २० हजार रुपैयाँ देखि दश लाख रुपैयाँसम्मका ३० वटा योजनाहरू सम्पन्न हुनुपर्ने छ । ६ वटा वडा रहेको यो गाउँपालिकामा अहिलेसम्म वडा नं १, ४ र ६ नं वडामा योजना सम्पन्न भएर भुक्तानी समेत भइसकेको छ । सूचिकृत बेरोजगारहरूलाई सडक, खेल मैदान र पर्यटन पूर्वाधार विकासका काममा परिचालन गरिएको र बेरोजगार सूचिकृत भएका व्यक्तिले यी क्षेत्रमा काम गरे बापत दैनिक ६५२ रुपैयाँ दरले ज्याला पाउने रोजगार संयोजक कार्कीले बताउनुभयो ।
गोकुलगंगा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १४८ जनालाई रोजगारी
- प्रकाशित मिति: मंगलबार, बैशाख २६ २०८०
- तामाकोशी