आइटी क्षेत्रका जनशक्तिलाई सफ्टवेयर विकास गर्ने वातावरण बनाउनुपर्छ : सांसद आनन्द श्रेष्ठ

  • प्रकाशित मिति: बिहिबार, बैशाख २१ २०८०
  • तामाकोशी

रामेछाप । वाग्मती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले नेपालका आइटी क्षेत्रका जनशक्तिलाई अब आइटी सम्बन्धी सफ्टवेयर विकासमा लगाउनुपर्ने बताउनुभएको छ । मन्थली नगरपालिकाको सहयोगमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ रामेछाप शाखाले राष्ट्रिय सूचना प्रविधि दिवस २०२३ को अवसरमा बिहीबार मन्थलीमा आयोजना गरेको साइबर सेक्युरिटी तालिम तथा सचेतना कार्यक्रम कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । आइटी सम्बन्धी विभिन्न विकसित मूलकले बनाएको सफ्टवेयर खरिदका लागि वार्षिक अरबौँ नेपाली रकम बाहिर गइरहेकाले यसलाई रोक्नका लागि आफ्नै देशमा ती सफ्टवेयरहरूको विकास गर्नुपर्ने उहाँको भनाइ छ । राज्यले आवश्यक कानुनहरू बनाएर आइटी क्षेत्रमा रहेका जनशक्तिलाई लगानी गरी सफ्टवेयर विकास गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँको जोड छ । अहिले द्रुत गतिमा विकास भइरहेको सूचना र प्रविधिको समुचित रूपमा प्रयोग गर्न नसक्दा विभिन्न समस्याहरू सिर्जन भइरहेकाले सूचना र प्रविधिको व्यवस्थित प्रयोग गर्न र गराउन राज्यको भूमिका महत्त्वपूर्ण हुनुपर्ने उहाँको भनाइ छ । सूचना र प्रविधिको प्रयोगबाट समाजमा हुने विभिन्न खालका अपराधहरू नियन्त्रण अहिले चुनौतीपूर्ण बनिरहेको सांसद श्रेष्ठले बताउनुभयो । सांसद श्रेष्ठले द्रुत गतिमा विकसित भइरहेको सूचना र प्रविधिको व्यवस्थित प्रयोगका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर ढङ्गले लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।