गुणस्तर मापदण्ड विपरीत दूध बेच्ने मन्थलीका तीन वटा दूध डेरीलाई जरिवाना

  • प्रकाशित मिति: शुक्रबार, बैशाख १५ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित तीन वटा दूध डेरीलाई जरिवानामा गरिएको छ । बजार अनुगमन समितिले निर्धारण गरेको दूधको गुणस्तर मापदण्ड पूरा नगरी गाईको दूध बिक्री गरिरहेको पाइएपछि मन्थलीमा सञ्चालित चिरञ्जीवी डेरी, रामेछाप डेरी र अमृत डेरी उद्योगलाई प्रति डेरी उद्योग १५÷१५ हजार जरिवानामा गरिएको हो । यी डेरीहरूले बजार अनुगमन समितिले निर्धारण गरेको आवश्यक प्राविधिक मापदण्ड पूरा नगरी बढाइएको मूल्यमा दूध बिक्री वितरण गरिरहेको उपभोक्ताको गुनासो आएपछि रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको निर्देशनपछि घरेलु तथा साना उद्योग कार्यालय मन्थलीले शुक्रवार अनुगमन गरेका हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुबोध कुमार साह नेतृत्वको टोलीले ग्राहक बनेर तीन वटै डेरीबाट गाई र भैँसीको दूध आधा÷ आधा लिटर खरिद गरेर परीक्षण गरेको थियो । डेरीले बिक्री गरिरहेको दूध परीक्षण गर्दा गाईको दूधमा फ्याट प्रतिशतमा पालना गर्नुपर्ने दूधको गुणस्तर मापदण्ड अनुरूप नभएको पाइएपछि तीन वटै डेरीलाई कानुन अनुसार १५÷१५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले बताउनुभयो । यही वैशाख ७ गते रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको अध्यक्षतामा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले गाई तथा भैँसीको दूधको फ्याट मापदण्ड सहित मूल्य तोकेको थियो । बैठकले न्यूनतम फ्याट ४ प्रतिशत र ८ प्रतिशत एस.एन.एफ भएको गाईको दूधको अधिकतम खुद्रा मूल्य प्रति लिटर ९५ रुपैयाँ निर्धारण गरेको थियो । त्यसै गरी न्यूनतम ५ प्रतिशत फ्याट र ८ प्रतिशत एस.एन.एफ भएको गुणस्तरीय भैँसीको दूध मात्रै बिक्री गर्ने निर्णय गरेको थियो ।