खाँडादेवी गाउँपालिका–८ लाई मेवाको पकेट क्षेत्रमा विकास गरिँदै

  • प्रकाशित मिति: मंगलबार, बैशाख १२ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडदेवी गाउँपालिकाले कृषि उपजहरूको उत्पादन बढाउन वडाहरूलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने अभियान चलाएको छ । वडा नं १ राकाथुमलाई मकै पकेट क्षेत्रको रूपमा विकास गरिरहेको खाँडादेवी गाउँपालिकाले वडा नं ८ गागललाई मेवाको पकेट क्षेत्रका रूपमा विकास गर्ने भएको छ । वडा नं ८ गागलमा मेवा उत्पादन राम्रो भइरहेको र यहाँको किसानहरू मेवाको खेतीमा आकर्षित बनेपछि गाउँपालिकाले यो वडालाई मेवाको पकेट क्षेत्रको रूपमा विकास गर्ने भएको हो । यो वडालाई मेवाको पकेट क्षेत्रको रूपमा विकास गर्न वडाका किसानहरूलाई खाँडादेवी गाउँपालिकाको आर्थिक तथा हेफरको प्राविधिक सहयोग र गाउँ विकास केन्द्रको सहजीकरणमा किसानहरूलाई मेवाको बिरुवा, सिँचाइका लागि ड्रम र पाइप प्रदान गरिएको छ । वडा नं ८ गागललाई मेवाको पकेट क्षेत्र बनाउने उद्देश्यका साथ यो वडाका किसानलाई ती हजार बोट मेवाको बिरुवा, प्रत्येक मेवा खेती गर्ने किसानलाई जनही १००० लिटरको प्लास्टिकको ड्रम र २०० मिटर पाइप वितरण गरिएको हेफर रामेछापका कार्यक्रम संयोजक माधव ढकालले बताउनुभयो । उहाँले असिना पानीले किसानलाई वितरण गरिएको मेवाको बिरुवामा क्षति गरेकाले क्षतिको आवश्यक अनुगमन गरेर फेरी अरु मेवाको बिरुवा उपलब्ध गराइने बताउनुभयो ।
यसअघि खाँडादेवी गाउँपालिकाले मकैको पकेट क्षेत्र वडा नं १ राकाथुमका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण र उन्नत जातको मकैको बिउ वितरण गरेको थियो । गाउँपालिकाको आर्थिक सहयोग, हेफरको प्राविधिक सहयोग र स्थानीय संस्था गाउँ विकास केन्द्रको साझेदारीमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशील विकास कार्यक्रम अन्तर्गत किसानलाई एक हजार २०० केजी बढी उन्नत जातको मकैको बिउ, तीन वटा मिनिटिलर ट्याक्टर, ११ वटा पिसानी मिल र आठ वटा मकै छोडाउने थ्रेसर मेसिन वितरण गरिएको थियो ।