रामेछाप । नक्कली आमा बुबा खडा गरेर जिल्ला प्रशासन कार्यालय रामेछापबाट एक व्यक्तिले अनधिकृत रूपमा नागरिकता लिएका छन् । जिल्लाको मन्थली नगरपालिका–७ भटौलीका राजमान तामाङ र उनकी श्रीमती एलिना तामाङलाई नक्कली बुबा आमा बनाएर सुजु थोकरले नागरिकता लिएकी हुन् । नक्कली छोरीलाई नागरिकता दिलाउनका लागि वडा सचिव श्याम किशोर साहले जन्म दर्ताको प्रमाणपत्र बनाएका थिए । सोही जन्म दर्ताको आधारमा मन्थली नगरपालिका–७ भटौलीका वडा अध्यक्ष भुवनहरि प्रसाईँले नक्कली छोरी बनाइएकी सुजु थोकरलाई नागरिकता प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा सिफारिस गर्नुभएको थियो । वडाको सिफारिसका आधारमा नक्कली छोरी सुजु थोकरले जिल्ला प्रशासन कार्यालय रामेछापबाट २०७९ चैत ३० गते २१–०१–७९–०७४०२ नम्बरको नागरिकता समेत लिएकी थिइन् । नक्कली बुबा बनेर नागरिकता दिलाएका राजमान तामाङका छोरा मन्थली नगरपालिका–७ का श्यामलाल तामाङले वास्तविक ठेगाना र पहिचान नखुलेको व्यक्तिलाई वडा कार्यालयबाट जन्म दर्ता र नागरिकता प्रदान गर्न वडा कार्यालयबाट सिफारिस भएको विषयमाथि छानबिन हुनुपर्ने माग गर्दै घटनामा छानबिन गरी दोषीमाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दर्ता गराउनुभएको छ ।
नक्कली छोरी बनेर नागरिकता लिएको रहस्य बाहिरिएसँगै मन्थली नगरपालिका–७ भटौलीका वडा अध्यक्ष भुवनहरि प्रसाईँले पनि जिल्ला प्रशासन कार्यालय रामेछापमा उक्त नागरिकता खारेज गरी पाउ भन्दै अर्को उजुरी दर्ता गराउनुभएको छ । वडा अध्यक्ष प्रसाईँले वडा कार्यालयलाई फसाउने उदेश्यले नक्कली छोरी खडा गरेर जन्म दर्ता र सिफारिस लगिएको बताउँदै वडा कार्यालयको कुनै पनि गलत नियत नरहेकाले सो नागरिकता लिने व्यक्तिको नागरिकता खारेज गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ ।
नक्कली बुबा आमा बनाएर नागरिकता प्रमाणपत्र लिएको विषयमा अनुसन्धान सुरु भएको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताउनुभयो । वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय रामेछापबाट नागरिकता जारी भएकाले उक्त नागरिकता खारेज गरी अनधिकृत व्यक्तिले नागरिकता लिएको विषयमा घटनमा संलग्नहरूलाई कारवाहीका लागि कानुनी प्रक्रिया अगाडी बढाइने उहाँको भनाइ छ ।
नक्कली बुबा आमा खडा गरेर जिप्रका रामेछापबाट नागरिकता लिएको खुलासा
- प्रकाशित मिति: शुक्रबार, बैशाख ८ २०८०
- तामाकोशी