मन्थलीमा भएको मोटरसाइकल चोरीमा संलग्न प्रहरी जवान विरुद्ध चोरी कसुर मुद्दा

  • प्रकाशित मिति: सोमबार, बैशाख ४ २०८०
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थली बजारबाट हराएको मोटरसाइकल चोरीको घटनामा संलग्न प्रहरी जवान उपेन्द्र भण्डारीका विरुद्धमा प्रहरीले चोरी कसुरमा मुद्दा अगाडी बढाएको छ । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारी चालकमा कार्यरत दोलखा जिल्ला मेलुङ गाउँपालिका घर भएका भण्डारी विरुद्ध प्रहरीले जिल्ला अदालत रामेछापमा सोमबार चोरी कसुरमा मुद्दा दायर गरेको हो । पीडित पक्षको उजुरीको आधारमा प्रहरीले खोजी गर्ने क्रममा सिसी क्यामेराको फुटेजबाट हराएको मोटरसाइकल र सो मोटरसाइकल चलाउने प्रहरी जवान भण्डारीको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो । सिसी टिभी फुटेजका आधारमा आवश्यक सोधपुछ गर्दा घटनामा संलग्न प्रहरी जवान भण्डारीले मोटरसाइकल चोरीमा आफ्नो संलग्नता रहेको स्वीकार गरेकाले उनलाई निलम्बन गरी आवश्यक कानुनी कारबाहीका लागि उपलब्ध प्रमाण सहित जिल्ला अदालतमा चोरी कसुरमा मुद्दा अगाडी बढाइएको उहाँको भनाइ छ । बागमती प्रदेश ०२–०२८ प ०९०७ नम्बरको यामाहा एफ जेट कालो रङ्गको मोटरसाइकल मन्थलीको कृषि विकास बैङ्कबाट मन्थली नगरपालिकाको कार्यालय झर्ने ओरालोमा पार्किङ गरिराखेको अवस्थामा गत शुक्रवार राति साढे ८ बजेको समयमा हराएको थियो । मोटरसाइकल हराएपछि मोटरसाइकल धनी रमेश नेपालीले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले हराएको मोटरसाइकलको पाट पुर्जा टुक्रा टुक्रा पारेको अवस्थामा मन्थली नगरपालिका–१ हाटे चौर स्थित एक घरको कोठामा फेला पारेको थियो ।