शैलुङका किसानलाई चौँरी पालन तालिम

  • प्रकाशित मिति: बुधबार, चैत्र २९ २०७९
  • तामाकोशी

रामेछाप । शैलुङ क्षेत्रमा चौँरी पालन व्यवसायलाई थप व्यावसायिक र व्यवस्थित बनाउन त्यहाँका किसानलाई व्यावसायिक चौँरी पालन तालिम प्रदान गरिएको छ । एक हप्ते तालिममा शैलुङमा चौँरी पालन गर्दै आएका किसानहरूको सहभागिता रहेको थियो । चौँरी पालक किसानलाई चौँरी पालन सम्बन्धी प्राविधिक ज्ञान तथा चौँरीमा लाग्ने रोग र त्यसको नियन्त्रणका बारेमा सिप प्रदान गर्न तालिम आयोजना गरिएको राष्ट्रिय याक तथा चौँरी कृषक महासंघका महासचिव दावा सङ्बु शेर्पाले जानकारी दिनुभयो । वाग्मती प्रदेशको पशु सेवा तालिम केन्द्र ललितपुर लगनखेलको आयोजनामा तालिम सञ्चालन भएको हो । तालिममा केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डा. रामचन्द्र सापकोटा र पशु सेवा विज्ञ केन्द्र ललितपुरका पशु विकास अधिकृत वासुदेव नाथले सहजीकरण गर्नुभएको थियो । पशु विकास अधिकृत वासुदेव नाथको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमकामा दोरम्बा शैलुङ्ग गाउँपालिका–१ डडुवाका वडाध्यक्ष प्रेमकुमार लामा, याक तथा चौँरी कृषक महासंघका महासचिव दावा सङ्बु शेर्पा र शैलुङ्ग गुम्बा प्रमुख सोनम लामाले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।