रामेछाप । आगामी वैशाख १ र २ गते रामेछाप सदरमुकाम मन्थलीमा रामेछाप सांस्कृतिक तथा सडक महोत्सव (फुड फेस्टीबल) २०८० हुने भएको छ । आयोजक रामेछाप उद्योग वाणिज्य सङ्घले आइतबार मन्थलीमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा सङ्घका महासचिव कुमार श्रेष्ठले मन्थली नगरपालिकाको मुख्य प्रायोजन, रामेछाप नगरपालिकाको प्रायोजन, रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घको सह आयोजनामा रामेछाप उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना गरेको बताउनुभयो । उहाँले मन्थलीको देवकोटा चोकदेखि कृषि विकास बैङ्क सम्मको बजार क्षेत्रको सडकमा वैशाख १ र २ गते महोत्सव हुने बताउनुभयो । महासचिव श्रेष्ठका अनुसार देवकोटा चोकदेखि कृषि विकास बैङ्क सम्म सडकमै विभिन्न २५ वटा स्टलहरू निर्माण हुने र ती स्टलहरूमा रामेछाप जिल्लामा उत्पादित वस्तु तथा वस्तुबाट बनेका परिकारहरू, अन्य कृषि जन्य तथा दुग्धजन्य वस्तु तथा जडीबुटी जन्य वस्तुहरू प्रदर्शनीमा राखिने छन् । रामेछाप सांस्कृतिक तथा सडक महोत्सव (फुड फेस्टीबल) २०८० ५० हजार बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको महासचिव श्रेष्ठले बताउनुभयो । २ दिनसम्म सञ्चालन हुने कार्यक्रम सफल बनाउनका लागि १७ वटा विभिन्न संस्थाहरू सहयोगी रहेको र विभिन्न ११ वटा उपसमितिहरू बनाइएको छ । स्थानीय तथा जिल्ला भित्र रहेका उद्योगी तथा व्यवसायीहरूले उत्पादन गरेका तथा दैनिक उपभोग्य वस्तु सेवाहरूका साथै कृषिजन्य तथा हस्तकलाका समानहरू उपभोक्ता समक्ष परिचित गराई व्यवसाय विस्तार तथा प्रवर्द्धनमा सहयोग पु¥याउन रामेछाप सांस्कृतिक तथा सडक महोत्सव (फुड फेस्टीबल) २०८० को आयोजना गरिएको रामेछाप उद्योग वाणिज्य शङ्का वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । महोत्सवमा रामेछाप जिल्लाका विभिन्न जात जातिहरूको संस्कृति झल्कने झाकी सहित राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति प्राप्त रामेछाप जिल्लाका कलाकारहरूको विभिन्न प्रस्तुति रहने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वैशाख १ र २ गते मन्थलीमा रामेछाप सांस्कृतिक तथा सडक महोत्सव हुने
- प्रकाशित मिति: आइतबार, चैत्र २६ २०७९
- तामाकोशी