अपाङ्गता भएका भक्तमाया र नरबहादुरलाई घरमै नागरिकता

  • प्रकाशित मिति: आइतबार, चैत्र २६ २०७९
  • तामाकोशी

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगाकी भक्तमाया सुनुवारले ७२ वर्षको वृद्धा अवस्थामा बल्ल नेपाली नागरिकता पाउनुभएको छ । शारीरिक र मानसिक रूपमा कमजोर समेत रहनुभएकी सुनुवार हालसम्म नेपाली नागरिकता प्राप्त गर्न नसक्दा सामाजिक सुरक्षा भत्ता लिनबाट वञ्चित हुँदै आउनुभएको थियो । परिवारका सदस्य बाहेक कसैको पनि छेउमा समेत नपर्ने भक्तमाया अन्य मानिससँग नजिक नपर्ने भएको कारण फोटो खिच्न नसक्दा नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सकिएको थिएन ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले कार्यालयमा नागरिकता लिन आउन नसक्ने अपाङ्गता भएका रामेछाप नगरपालिका–४ की भक्तमाया सहित दुई जना नागरिकलाई घरमा नै गएर शनिवार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी निरौला नेतृत्वको टोलीले रामेछाप नगरपालिका–४ का २५ वर्षीय शारीरिक रूपमा पूर्ण अशक्त नरबहादुर माझीलाई पनि घरमै नेपाली नागरिकता प्रदान गरेको छ । जिल्लाको दुर्गम मानिएको यस क्षेत्रमा यातायातको सहज पहुँच नहुनु र सदरमुकाम सम्म ल्याएर नागरिकता बनाउने सक्ने अवस्था नरहेकाले उहाँहरूको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ निरौलाले बताउनुभयो । भक्तमाया र नरबहादुरलाई निर्वाचित वडा सदस्य रोजबहादुर श्रेष्ठको पहलमा र पालिका उपप्रमुख बाल कुमारी थापा(कार्की) रोहवरमा घरमै गएर नागरिकता वितरण गरिएको हो। ‘राज्यको दायित्व र आफ्नो जिम्मेवारीको पूरा गर्नु हाम्रो कर्तव्य हो, त्यसैले फरक क्षमता भएका नागरिकलाई नेपाली नागरिकको अस्तित्व दिन र राज्यबाट प्राप्त गर्ने सुविधाबाट वञ्चित नहुन् भन्नलाई घरमै नागरिकता प्रदान गरिएको हो’, प्रजिअ निरौलाले भन्नुभयो ।
जिल्लाभर रहेका यस्ता प्रकृतिका नागरिकलाई सरोकारवाला निकायसँग आवश्यक समन्वयमा घरमै गएर नागरिकता प्रदान गरिने उहाँको भनाइ छ । नागरिकता प्राप्त गरेपछि भक्तमाया र नरबहादुरका परिवार खुसी भएका छन्। नागरिकता प्राप्त भएसँगै अब दुवै जनाको राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाटो खुलेको छ। सामाजिक सुरक्षा भत्ताको लागि आइतबारबाट प्रक्रिया सुरु गरेका छन् ।