नवराज विक
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले शारीरिक रूपमा अपाङ्गता भएका एक शिक्षकलाई नियतवश रूपमा नियम विपरीत सरुवा गरेको पाइएको छ । रामेछाप नगरपालिका वाड नं. ३ साँघुटारस्थित श्री कालिका ईश्वरी आधारभूत विद्यालयमा बाँकिमेरीमा कार्यरत शिक्षक मेघराज सुबेदीलाई नगरपालिकाले जबरजस्ती नियतवश ढङ्गले नियम विपरीत सरुवा गरेको हो । शिक्षक सुबेदी वि.सं. २०५१ सालदेखि कालिका ईश्वरी आधारभूत विद्यालयमा कार्यरत हुनुहुन्छ । करिब ५७ वर्षीय शिक्षक सुबेदी शारीरिक रूपले अपाङ्गता भएका व्यक्ति हुच्चनुहुन्छ । उहाँ अहिले सामान्य व्यक्तिले जस्तो सहज रूपमा हिड्डुल समेत गर्न सक्नुहुन्न । शारीरिक रूपले अपाङ्गता भएका शिक्षक सुबेदीलाई नगरपालिकाले बदनियतले शिक्षा नियमावली २०५९ विपरीत सरुवा गरेको हो । शिक्षा नियमावली २०५९ को नियम ९९ उपनियम २ मा महिला तथा अपाङ्गता भएका शिक्षकलाई साधरणतया अपायक पर्ने स्थानमा सरुवा गरिने छैन भनी प्रस्ट रूपमा उल्लेख गरिएको छ । तर चैत १९ गते बसेको रामेछाप नगर शिक्षा समितिको बैठकले शिक्षक सुबेदीलाई वडा नं. ३ मा रहेको जाल्पा गुठेश्वरी आधारभूत विद्यालय कमलावारिमा काज खटाएको छ । नगरपालिकाले अहिले काजमा खटाएको विद्यालयमा आवतजावत गर्न आफूलाई निकै समस्या हुने शिक्षक सुबेदीले बताउनुभयो । सामान्य व्यक्तिलाई पनि हिँडेर जाँदा करिब २ घण्टा लाग्ने विद्यालयमा नगरपालिकाले काजमा खटाएर आफूमाथि अन्याय गरेको शिक्षक सुबेदीको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र वडा अध्यक्षको मिलेमतोमा आफूलाई यसरी अपायक पर्ने ठाउँमा काज सरुवा गराउने काम भएको उहाँको आरोप छ । कालिका ईश्वरी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काँग्रेस नेता चन्द्र बहादुर प्रधान र वडा अध्यक्ष दल बहादुर प्रधानले नगरपालिकाको मिलेमतोमा आफूलाई दुःख दिने र जागिरबाट हटाउने नियतले यसरी काज सरुवा गरेको उहाँको गुनासो छ ।
उहाँले भन्नुभयो ,‘ मलाई दुःख दिने नियतले वडा अध्यक्ष र विव्यस अध्यक्षको मिलेमतोमा अपायक ठाउँमा सरुवा गर्ने काम भयो, म सवारी साधनहरू पनि चलाउन सक्दिन, हिँडेर जाऊँ ४ घण्टा लाग्छ, उमेरले पनि ५७ वर्ष भइसके अपाङ्गता छु, विद्यालय जान आउन नै मलाई काल हुने भयो । जागिर सकिन तीन वर्ष मात्रै बाँकी भएकाले यसरी दुःख दिइरहे भने जागिर छाड्नुको आफसँग कुनै विकल्प नभएको उहाँको भनाइ छ । कालिका ईश्वरी आधारभूत विद्यालयमा प्रा.वि. तहमा ४ जनाको दरबन्दी छ भने नि.मा.वि. मा १ जनाको दरबन्दी छ । सोही अनुसार अहिले शिक्षक कार्यरत छन् । कार्यरत शिक्षकमध्ये २ जना अपाङ्गता भएका व्यक्ति छन् । अन्य व्यक्तिलाई सरुवा नगरी आफूलाई अपायक स्थानमा काज खटाएको उहाँको गुनासो छ । शिक्षक सुबेदीले चैत २२ गते बुधवार नगरपालिकामा पुगेर आफूलाई पायक पर्ने विद्यालयमा पुनः काज खटाउन माग गर्दै निवेदन दिनुभएको छ ।
यसैबिच, वडाका अध्यक्ष दल बहादुर प्रधानले शिक्षक सरुवा गराउने कुरा आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको विषय भएको बताउँदै त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभयो । शिक्षक सुबेदीले नै विद्यालयको अभिभावक भेलामा आफूहरूलाई जहाँ खटाए पनि जान तयार भनेपछि शिक्षा समितिले निर्णय गरेर काजमा खटाएको हुनसक्ने वडा अध्यक्ष प्रधानले बताउनुभयो । नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखाका शिक्षा अधिकृत नमराज प्रसाद बडूले शिक्षक सुबेदीमाथि नियतवश रूपमा सरुवा गरिएको नभई विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून रहेकाले शिक्षकलाई अन्य विद्यालयमा व्यवस्थापन गर्ने क्रममा उहाँहरूलाई पायक पर्ने विद्यालयमा नै काज खटाइएको बताउनुभयो ।
शिक्षक सुबेदीको विषयमा अहिले विरोध आएको र नगरमा निवेदन नै परेकोले अब शिक्षा समितिको बैठक बसेर उहाँलाई पायक पर्ने ठाउँमा पुनः सरुवा गर्न सक्ने शिक्षा अधिकृत बडूले बताउनुभयो । शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले अपाङ्गता भएका शिक्षक मेघराज सुबेदीलाई काजमा सरुवा गरेर नगरपालिकाले अन्याय गरेको बताउनुभयो । दरबन्दी मिलान बाहेकको हकमा जाने र आउने विद्यालय व्यवस्थापन समितिको सहमतिमा सरुवा गर्ने प्रचलन रहे पनि यो विषयमा सहमति भएको वा गरेको नदेखिएको उहाँको भनाइ छ । शिक्षक मेघराज सुबेदीलाई अन्याय नै भएको हो भनि आफुले नगरपालिकाको सम्बन्धीत निकायलाई आवश्यक सुझाव दिएको उहाँको भनाइ छ ।
रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले विवाद निकाल्ने काम मात्रै भएको र आफूहरूले अन्याय नगरेको बताउनुभयो । विद्यालय नै रहने वा नरहने भन्ने विषयमा ठुलो दुबिधा रहेकोले उहाँलाई हाल कार्यरत रहेको शिक्षण संस्थाभन्दा दश मिनेट टाढाको विद्यालयमा काज खटाइएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । शिक्षक सुबेदीले दिएको निवेदन उपर कुनै कारबाही अघि नबढ्ने भन्दै न्यौपानेले निर्णयबाट कुनै हालतमा पछि नहट्ने जिकिर गर्नुभयो ।
शिक्षक सरुवामा रामेछाप नगरको बदनियत : अपाङ्ग शिक्षकको अपायक ठाउँमा काज सरुवा
- प्रकाशित मिति: बिहिबार, चैत्र २३ २०७९
- तामाकोशी