रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा हालसम्म १६१ वटा विकास योजनाहरू सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०७९÷०८० को हालसम्म गाउँपालिकाले ९ वटै वडाका गरी १६१ वटा योजना सम्पन्न गरेको हो । गाउँपालिकामा यो वर्ष सम्पन्न हुनुपर्ने योजना मध्ये हालसम्म १६१ वटा सम्पन्न भएको र सम्पन्न भएका १५३ वटा योजनाको भुक्तानी समेत भइसकेको गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले बताउनुभयो । उहाँका अनुसार सम्पन्न भइसकेका योजनामा अब ६ वटाको मात्रै भुक्तानी हुन बाँकी रहेको छ । ‘खाँडादेवी गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९÷०८० का लागि २६९ वटा योजनाहरू सम्झौताका लागि स्टमेट गरिएकोमा २५९ वटा योजना सम्झौता भएका थिए, सम्झौता भएका मध्य अहिलेसम्म १६१ वटा योजना सम्पन्न भएका छन्’, उहाँले भन्नुभयो । स्टमेट भएका ६९ वटा योजनाहरूको अझै सम्झौता नै हुन नसकेको उहाँले बताउनुभयो । उपाध्यक्ष घिसिङका अनुसार गाउँपालिकाको अहिलेसम्मको आर्थिक प्रगति ४१.११ प्रतिशत र भौतिक प्रगति ४९.२३ प्रतिशत छ । गाउँपालिकामा यो वर्ष सम्पन्न हुनुपर्ने सबै योजनाहरू आगामी जेठ १५ गते भित्र सम्पन्न गर्ने गरी काम गरिरहेको उपाध्यक्ष घिसिङले बताउनुभयो । गाउँपालिकामा यो वर्ष सम्पन्न हुने योजनाहरूको गुणस्तरीयताका साथै समयमै सम्पन्न गर्नका लागि अनुगमनमा कडाइ गरिएको उपाध्यक्ष घिसिङले बताउनुभयो । निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका कारणले उपभोक्ता समितिहरू बन्न र योजना सम्झौता हुन ढिलाइ भएकाले विकास योजनाहरू सञ्चालनमा केही ढिलाइ भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । ‘यो अवधिसम्म गाउँपालिकाको भौतिक प्रगति ४९.२३ प्रतिशत मात्रै हुनु राम्रो होइन, पछिल्लो समय कामलाई गति दिन सबै वडालाई आवश्यक निर्देशन दिएका छौँ, यही गतिमा काम भए आगामी जेठ १५ गतेसम्म सम्झौता भएका सबै योजनाहरू सम्पन्न हुन्छन्’,उहाँले भन्नुभयो ।
खाँडादेवी गाउँपालिकामा १६१ वटा योजना सम्पन्न
- प्रकाशित मिति: बुधबार, चैत्र २२ २०७९
- तामाकोशी