रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीमा एक महिनाको अवधिमा दुई जनाको हत्या भएको छ । यो वडामा एक महिना ६ दिनको अवधिमा ८४ वर्षका वृद्ध र ७१ वर्षकी एक हत्या भएको हो । गत फागुन ७ गते आइतबार बेतालीमा आधा शरीर जलेको अवस्थामा ७१ वर्षीय पद्म कुमारी खड्काको लास फेला प¥यो । गोकुलगंगा गाउँपालिका–४ बेतालीका वडा अध्यक्ष रामचन्द्र बस्नेतका अनुसार वृद्धा आफूले बिक्री गरेको घरमा एक्लै बस्दै आउनुभएको थियो । खड्काको लास चुलो नजिकै कम्मर भन्दा मुनिको भाग जलेर गुन्द्रीले छोपेर राखेको अवस्थामा फेला परेको थियो । यो घटना भएको एक महिना ६ दिनको अवधिमा सोही वडा गोकुलगंगा गाउँपालिका–४ बेतालीमै एक ८४ वर्षका वृद्धको खुकुरी प्रहार गरी हत्या भयो । चैत १३ गते सोमबार साँझ साढे ७ बजेको समयमा बेतालीको लिसेखानीकाका ८४ वर्षीय समशेर बहादुर थापामगरको खुकुरी प्रहारबाट हत्या भएको हो । स्थानीयका अनुसार दुई नातिनी सहित आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात ब्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेका थिए । खुकुरी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेको थापा मगरको उपचारका लागि सदरमुकाम मन्थली ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । यो घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबि) को प्रहरी टोलीले घटना स्थलमा तालिम प्राप्त कुकुर समेतको परिचालन गरी विस्तृत अनुसन्धान गरेको छ । घटनाको अनुसन्धान पश्चात् घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गोकुलगंगा गाउँपालिका–४ बेतालीका चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा बेतालीका ४५ वर्षकी राम पियारी खड्का, ६२ वर्षका मानबहादुर मगर, ५२ वर्षका नेत्रबहादुर थापामगर र ४५ वर्षकी अनिता भन्ने मानोमाया थापामगरलाई नियन्त्रणमा लिएको हो । प्रहरीले सम शेर बहादुर थापामगरको हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरी समेत बरामद गरेको छ । घटनामा संलग्न भएको आशङ्कामा सोही वडाका चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो ।
रामेछापमा एक महिनामा दुई जनाको हत्या
- प्रकाशित मिति: सोमबार, चैत्र २० २०७९
- तामाकोशी