पोषणयुक्त खानेकुराको अभाव पूर्ति गर्न खाँडादेवी गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम

  • प्रकाशित मिति: आइतबार, चैत्र १९ २०७९
  • तामाकोशी

रामेछाप । सुत्केरी अवस्थाका आमाका लागि आवश्यक पोषणयुक्त खानेकुराको अभाव पूर्ति गर्दै आमा र बच्चाको स्वास्थ्यका लागि रामेछापको खाँडादेवी गाउँपालिकाले पोसिलो खानेकुरा लिएर सुत्केरी भेट गर्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश श्रेष्ठले बताउनुभयो । ‘प्रसूतिपछि वा सुत्केरी अवस्थामा आमाको लागि विशेष स्याहार सुसार जरुरी हुन्छ , ९ महिनासम्म गर्भ, त्यसपछि पीडादायी प्रसूति र आमा बनेपछि नवजात शिशु हुर्काउनुपर्ने भएकाले सुत्केरी महिलाको लागि पर्याप्त आराम एवं पोसिलो खानपान आवश्यक हुन्छ, यही कुरालाई ध्यानमा राखेर गाउँपालिकाले सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरेको हो’, उहाँले भन्नुभयो ।
गाउँपालिकाको महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत सुत्केरी भेट गर्ने कार्यक्रमको पहिलो चरणको कार्यक्रमबाट गाउँपालिकाको नौ वटै वडामा पुगेर सुत्केरी महिलासँग भेट गर्ने कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभयो । सुत्केरी महिला र बच्चाको स्वास्थ्य अवस्था बुझ्न, उनीहरूलाई उत्प्रेरित गर्न र उनीहरूको साथमा स्थानीय सरकार छ भन्ने अनुभूति दिलाउन सुत्केरी भेट कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष रमा घिसिङले बताउनुभयो । ‘उपाध्यक्षले भेटमा जाँदा गाउँपालिको तर्फबाट सुत्केरी महिलालाई घ्यू, तेल, नुन, अण्डा लगायतका खाने कुरा समेत प्रदान गरी सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर आवश्यक परामर्श दिएका छौँ’, उहाँले भन्नुभयो । चालु आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि हालसम्म ११० जना सुत्केरीलाई पोषण युक्त खाद्य सामाग्री सहित भेट गरिएको घिसिङले बताउनुभयो । खाँडादेवी गाउँपालिकाले पोषण सुधारका लागि गाउँपालिका रहेको १०५ वटा आमा समूह परिचालनलाई जोड दिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यो वर्ष ५१ वटा आमा समूहहरूलाई पोषण लगायतका अन्य स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । यो कार्यक्रमको प्रभावकारितालाई ध्यानमा राखेर निरन्तरता दिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।