चण्डेश्वरी माविका विद्यार्थीलाई स्विटर वितरण

  • प्रकाशित मिति: बुधबार, चैत्र १५ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रीतिमा रहेको सनराइज बैंकले चण्डेश्वरी मावि प्रीतिमा अध्ययन गर्ने विद्यार्थीलाई स्विटर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई स्विटर वितरण गरेको हो । सनराइज बैंक लिमिटेड प्रीतिका प्रबन्धक सुनिल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले सनराइज बैंकले दुर्गममा बसेर सेवा प्रवाह गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । गाउँमा बैंकले सेवा प्रवाह गर्दा स्थानीयलाई सहज भएको सुनुवारले बताउनुभयो । सो क्षेत्रका नागरिकलाई बैंकिङ कारोबारको लागि सदरमुकाम मन्थली र दोलखाको जिरी बजार धाउनु पर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरेर बैंकले स्थानीयको मन जित्ने काम गरेको सुनुवारले बताउनुभयो । सोही कार्यक्रममा सनराइज बैंकका शाखा प्रबन्धक न्यौपाने र स्थानीय मानबहादुर खत्रीले सो विद्यालयमा कक्षा ६ मा पढ्ने विद्यार्थीहरूलाई पनि स्विटर वितरण गर्नुभएको थियो । विद्यालयका १ सय ४३ जना विद्यार्थीलाई स्विटर प्रदान गरिएको छ ।