रामेछाप । रामेछापको मन्थली नगरपालिकाको तीन वटा वडाको घर घरमा खानेपानी धारा पु¥याउने उद्देश्यले बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेको छ । तामाकोसीको पानीलाई लिफ्ट गरेर मन्थली नगरपालिकाको वडा नं ७ भटौली, वडा नं ८ चिसापानी र वडा नं ९ पुरानागाउँका दुई हजार १०० घर धुरीलाई शुद्ध पिउने पानी पु¥याउन सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना मार्फत यो आयोजना सञ्चालन भइरहेको छ ।
नगरपालिका भित्रका अति सुख्खा ग्रस्त वडा नं ७ भटौली, वडा न. ८ चिसापानी र वडा नं ९ पुरानागाउँका २ हजार १०० बढी घरमा खानेपानीको धारा पु¥याउने गरी सङ्घीय सरकारबाट यो योजना सञ्चालन भइरहेको वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । ‘नगरपालिकाको यी तीन वटा वडा अति सुख्खा ग्रस्त वडाहरू हुन्, यहाँका नागरिकलाई वर्षाको समयमा पनि खानेपानीको समस्या हुन्छ, जहाँ तामाकोसीको पानी लिफ्ट मार्फत तानेर जनतालाई खानेपानी पु¥याउनुको विकल्प छैन,’ उहाँले भन्नुभयो ।
लामो समयको प्रयासपछि अहिले सङ्घीय सरकारको बहुबर्षिय योजना मार्फत ४९ करोड रुपियाँ लागतमा गत वर्षबाट सञ्चालन भइरहेको यो आयोजनाको अहिलेसम्म १५ प्रतिशत भन्दा बढी काम भएको उहाँले बताउनुभयो ।
मन्थली नगरपालिका–७ भटौलीको गुमिटार स्थित तामाकोसी बाट लिफ्ट मार्फत पानी तानेर वडा नं ८ चिसापानीको सबै भन्दा अग्लो ठाउँ चिसापानी गढीमा पु¥याइने छ । लिफ्ट प्रविधिबाट भटौलीको मुगिटार बाट चिसापानी गढीसम्म पानी पु¥याउनका लागि विभिन्न पाँच स्थानमा ट्याङ्कीहरू निर्माण गरिनेछ । त्यसपछि तीन वटा वडाहरू ७, ८ र ९ मा पानी वितरणका लागि विभिन्न साइजका २४ वटा ट्याङ्कीहरू निर्माण हुनेछन् ।
यो आयोजना २०८१ साल असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ सञ्चालन भइरहेको छ । यो आयोजना सम्पन्न भएपछि वर्षाको समयमा समेत खानेपानीको चरम समस्या भोग्दै आएका मन्थली नगरपालिका वडा नं ७ भटौली, वडा नं ८ चिसापानी र वडा नं ९ पुरानागाउँका नागरिकले खानेपानीको सुविधा पाउनेछन् । अहिले यो आयोजना अन्तरगत मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँको साबिक वडा नं १ देखि वडा नं ८ सम्म खानेपानी सेवा पु¥याउन विभिन्न स्थानमा ट्याङ्की निर्माण कार्य भइरहेको वडा नं ९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आरणले बताउनुभयो । ‘वडा नं ९ पुरानागाउँको साबिक वडा नं १ देखि ८ सम्मका नागरिकको घर घरमा खानेपानी पु¥याउनका लागि काम सुरु भइसकेको छ, जसका लागि साबिक वडा नं १, २ र ५ मा ट्याङ्की निर्माण कार्य जारी छ, साबिकको वडा नं ७ मा पनि केही समयपछि ट्याङ्की निर्माण सुरु हुन्छ’, उहाँले भन्नुभयो ।
यो आयोजना समयमै सम्पन्न भए वर्षाको समयमा समेत खनेपानीको अभाव झेल्दै आएका पुरानागाउँका नागरिकलाई ठुलो राहत पुग्ने वडा अध्यक्ष आरणले बताउनुभयो ।
