मन्थली नगरपालिकाकी एक महिलालाई श्रीमान् जीवित हुँदै एकल भत्ता

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ३ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाकी एक महिलाले श्रीमान जीवित हुँदै एकल महिला भत्ता खाइरहेको पाइएको छ । मन्थली नरपालिका–३ ठुलीमदौका रामबाबु खत्रीले आफैँले कागज बनाइदिएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको खुलेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यालय सहयोगी पदमा कार्यरत खत्रीकी श्रीमती निर्मला खत्रीले श्रीमान् हुँदा हुँदै २०७८ साल भदौ २१ गते एकल महिला परिचयपत्र बनाउनुभएको खुलेको छ । मन्थली नगरपालिकाको तथ्याङ्क अनुसार निर्मलाले २०७९ माघसम्म मासिक २ हजार ६ सय ६० रुपैँयाका दरले १५ महिनामा ३९ हजार ९ सय रुपै सामाजिक सुरक्षा भत्ता बुझ्नुभएको छ । सिन्दूर पोते सहित रातो पहिरनमा नेपाल इन्भेष्टमेन्ट बैँकमा सामाजिक सुरक्षा भत्ताको रकम झिक्न पुग्नुभएकी निर्मलालाई बैँक कर्मचारीले सोधपुछ गरेपछि उहाँका पति जीवित नै रहेको खुलेको थियो । आफू जीवित हुँदै श्रीमतीलाई एकल महिला भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले खत्रीले आफ्नो जागिर जिल्ला प्रशासन कार्यालय मन्थलीबाट जिल्ला कारागार रामेछापमा सरुवा गर्नुभएको थियो । त्यहाँबाट पनि कारबाही हुने डरले उहाँले हतार हतार जागिर छाड्नु भएको छ । खत्रीको एकल महिला प्रमाणपत्र तत्कालीन वडा सचिव शिवकुमार महतोले बनाइदिनुभएको थियो । महतोले खत्रीकी श्रीमती निर्मलालाई बनाइदिएको एकल महिला परिचय पत्रमा बाबु–आमाको मात्र नाम खुलाइएको छ भने पतिको नाम खुलाइएको छैन । वडाध्यक्ष कृष्णगोपाल थापाले खत्रीले भत्ता लिएको बताउँदै आफू निर्वाचित भएर आउनु अघिकै घटना भएको बताउनुभयो ।