मन्थलीका होटेल तथा रिपोर्ट सञ्चालकहरूलाई योग तथा पूर्व कर्म सम्बन्धी अभिमुखीकरण

  • प्रकाशित मिति: बिहिबार, चैत्र २ २०७९
  • तामाकोशी

रामेछाप । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले सदरमुकाम मन्थलीमा सञ्चालित होटेल तथा रिपोर्टका सञ्चालकहरूलाई लक्षित गरी योग तथा पूर्व कर्म सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले होटेल तथा रिपोर्ट सञ्चालकहरूलाई योग, पूर्व कर्म र पञ्च कर्मका बारेमा जानकारी दिने उद्देश्यले बिहीबार सदरमुकाम मन्थलीमा अभिमुखीकरण प्रदान गरेको हो ।
मन्थलीमा सञ्चालित होटेल तथा रिपोर्टका २० जना भन्दा बढीको सहभागितामा भएको कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. नदन कँडेल र आयुर्वेद मानसिक रोग विशेषज्ञ डा. प्रशान्त बस्नेतले योग, पूर्व कर्मका बारेमा अभिमुखीकरण गर्नुभएको थियो । कार्यक्रममा डा.बस्नेतले राजयोग र अष्टाङ्ग योगको महत्त्वका बारेमा जानकारी गराउँदै यसका लागि होटेल तथा रिसोर्टहरुले गर्नुपर्ने व्यवस्थापन लगायतका बारेमा जानकारी गराउनुभएको थियो । आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. कँडेल पूर्व कर्म र पञ्च कर्मका बारेमा जानकारी गराउँदै होटेल तथा रिसोर्टहरुले आफ्ना पाहुनाहरूका लागि पूर्व कर्म र पञ्च कर्म गर्ने व्यवस्था गरेर मन्थलीमा पर्यटक आवागमन बढाउनुपर्नेमा जोड दिनुभयो । यसअघि अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै वाग्मती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले विश्वको बदलिँदो परिवेश सँगै परिवर्तन भएको मानिसको जीवन शैलीमा यो योग र पूर्व कर्मको ठुलो महत्त्व रहेको बताउनुभयो । हाम्रो मुलुक प्राकृतिक रूपमा सुन्दर भए पनि यसको समुचित प्रयोग र आवश्यक व्यवस्थापन गर्न नसक्दा हाम्रो समाजमा नसर्ने रोगले बेकराल रूप लिइरहेको उहाँका भनाइ छ । मानिसलाई प्रकृतिसँग रमाउँदै जीवन शैलीमा सुधार गरी स्वास्थ्य बनाउन यो योग अभ्यास र पर्व कर्मले ठुलो काम गर्ने उहाँको विश्वास छ । आन्तरिक तथा बाह्य पर्टटकहरुलाई केन्द्रमा राखे मन्थलीमा सञ्चालित होटेल तथा रिसोर्टहरुले योग तथा पूर्व कर्मको प्याकेजहरूको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ । रामेछापका प्रमुख जिल्ला अधिकार शोभखर रेग्मीले पछिल्लो समय बदलिँदो परिवेशसँगै बदलिएको मानिसको जीवन यापन शैलीले मानिसलाई रोगी बनाइरहेकाले अब स्वास्थ्य बन्नका लागि योग अभ्यासहरू र पूर्व कर्महरू गर्न आवश्यक रहेको बताउनुभयो । मन्थलीमा आउने पर्टटकहरुलाई यहाँ सञ्चालित होटेल तथा रिसोर्टहरुले योग र पूर्व कर्मको प्याकेज सहितको सेवा दिन सक्नुपर्ने उहाँको भनाइ छ ।