रामेछाप । निर्माणाधीन सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले प्रभावित क्षत्रको मागलाई बेवास्ता गरेको रामेछापका आयोजना प्रभावितहरूले गुनासो गरेका छन् । आयोजनाले रामेछाप सदरमुकाम मन्थलीमा बुधवार आयोजना गरेको आयोजना बारे प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम सहभागीहरूले आयोजनाले प्रभावितको सबै मागको बेवास्ता गरेको बताएका हुन् । सुनकोसी–मरिन डाइभर्सन परियोजना प्रभावित संवाद समितिका संयोजक वृहस्पति माझीले आयोजनाले प्रभावित समुदायको मागलाई लत्त्याउने काम गरिरहेको बताउनुभयो । रामेछापका विभिन्न स्थानका आयोजना प्रभावितहरूले एकीकृत रूपमा आयोजनालाई १३ बुँदे माग गरिए पनि ती मागहरू कार्यान्वयनमा आयोजना बेखबर बनेको उहाँको भनाइ छ । ‘आयोजना प्रभावितहरू विकास विरोधी हुँदै होइनन्, तर विकासका नामा गरिने अत्याचार सहेर बस्दैनौँ, आयोजनाले यो गर्छु त्यो गर्छ भनेर प्रभावितहरूमा त्रास मात्रै पैदा गरिरहेको छ, हाम्रो माग बारे सबै बेखबर बनिरहेका छन्’,उहाँले भन्नुभयो । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले आयोजनाले प्रभावितहरूको उचित व्यवस्थापन गर्न नसकेको बताउनुभयो । ‘रामेछाप जिल्लाको सबै भन्दा बढी आफ्नो वडाका नागरिक आयोजनाबाट प्रभावित छन्, यहाँको प्रभावितहरूको उचित व्यवस्थापनका लागि आयोजनाले उनीहरूको मागको कार्यान्वयन गर्नुपर्छ’,उहाँले भन्नुभयो ।
पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरेले आयोजनाका कारण रामेछापका प्रभावितहरू क्षेत्रका माझी समुदायहरु पटक, पटक आन्दोलनमा उत्रन बाध्य रहेकाले उनीहरू आन्दोलित हुनुपर्ने कारणको खोजी गरी उनीहरूको माग पूरा गर्नुपर्ने बताउनुभयो । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक मित्र बरालले आयोजना प्रभावित क्षेत्रका नागरिकहरूको माग क्रमशः आयोजनाले सम्बोधन गरिरहेको बताउनुभयो । ‘आयोजना प्रभावित क्षेत्रभित्र झन्डै ९५ प्रतिशत जग्गाको मुआब्जा वितरणको काम झन्डै ९५ प्रतिशत भइसकेको छ, अन्य कुराहरूको पनि आयोजनाले काम अगाडी बढाइरहेको छ’, उहाँले भन्नुभयो । उहाँले सिन्धुली र रामेछाप जिल्ला गरी २६ परिवारको ११६ जना मानिस आयोजनाबाट विस्थापित हुने बताउनुभयो । आयोजनाको पावर हाउस निर्माण गर्दा सिन्धुलीमा २० परिवारको ८५ जना मानिस र ४२ वटा घर गोठ र रामेछापमा ६ परिवारका ३१ जना मानिस र १० घर गोठ विस्थापित हुने उहाँको भनाइ छ । उहाँका अनुसार सुनकोसी–मरिन डाइभर्सन परियोजनाले गत असोज महिनाबाट अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्ने काम गरिरहेको छ । आठ महिनाको अवधिमा ४ हजार मिटर सुरुङ खन्ने काम सम्पन्न भएको आयोजना निर्देशक बरालले बताउनुभयो । सिन्धुलीको सुनकोसी गाउँपालिका ७ बाट र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीमा डाइभर्सनको संरचना निर्माण गरी सुनकोसी नदीका करिब ६७ क्युमेक पानीलाई सुरुङमार्फत कमलामाई नगरपालिका– २ कुसुमटारस्थित मरिन खोलामा पानी खसाल्ने योजना रहेको उहाँले बताउनुभयो । मरिनको पानी बागमतीमा पुग्ने छ र बागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउन सकिने उहाँले बताउनुभयो । यो आयोजनाबाट मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षै भरी सिँचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन हुने उहाँको भनाइ छ । यो आयोजनाको ठेक्का नलाग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते शिलान्यास गरेका थिए ।
सुनकोसी–मरिन डाइभर्सन आयोजनाले प्रभावितको मागलाई बेवास्ता गरेको आरोप
- प्रकाशित मिति: बुधबार, चैत्र १ २०७९
- तामाकोशी