रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घका नव निर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण गरेका छन् । गत फागुन २७ गते भएको सङ्घको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूले बुधवार शपथ तथा पदभार ग्रहण गरेको हो । बुधवार सङ्घको हलमा आयोजित नव निर्वाचित पदाधिकारीलाई शपथ तथा पदभार हस्तान्तरण कार्यक्रममा निर्वाचन अधिकृत रामप्रसाद पौडेलले निर्वाचित अध्यक्ष नवीन थापामगरलाई शपथ ग्रहण गराउनुभएको थियो । त्यसपश्चात अध्यक्ष थापा मगरले सङ्घका अन्य पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो । शपथ ग्रहण कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी सोभाखर रेग्मीले उद्योग वाणिज्य सङ्घ पनि सरकारको एउटा अङ्ग भएकाले जिल्लाका व्यवसायीहरूको हक हितका लागि स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरेर अगाडी बढ्न सुझाव दिनुभयो । निर्वाचन अधिकृत रामप्रसाद पौडेलले निर्वाचनको मैदानमा हुँदा जस्तो भए पनि निर्वाचित भइसकेपछि सबै व्यवसायीहरूको साझा प्रतिनिधि भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घका पूर्व अध्यक्ष श्याम थापाले अहिले धेरै व्यवसायहरू धराशायी हुँदा व्यवसायीहरूलाई आफ्नो व्यवसाय टिकाउन समस्या भइरहेकाले उनीहरूको हितका लागि व्यवसायीको पक्षमा एकजुट भएर काम गर्न सुझाव दिनुभयो । सङ्घका अर्का पूर्व अध्यक्ष पशुपति बहादुर खड्काले अहिलेको अवस्थालाई मध्यनजर गरी सङ्घका निर्वाचित नयाँ टिमले व्यवसायीहरूको पक्षमा काम गर्न नसके धेरै व्यवसायीहरू विभिन्न दुर्घटनामा पुग्ने बताउँदै यसमा गम्भीर बन्न सुझाव दिनुभयो । विधि, प्रक्रिया र कानुन अनुसार स्थानीय प्रशासन, स्थानीय सरकार लगायत सरोकारवाला निकायसँग समन्वय गरेर व्यवसायीको हितका निम्ति काम गर्न नवनिर्वाचित नेतृत्वलाई उहाँको सुझाव छ । पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे मुलुककै आर्थिक अवस्था कमजोर बन्दै गएको र व्यापार व्यवसाय चल्न छाडेका अवस्थामा जिल्ला व्यापार व्यवसायलाई चलयमान बनाउने योजना तथा कार्यक्रम बनाउन नव निर्वाचित नेतृत्वलाई सुझाव दिनुभयो । शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै सङ्घका अध्यक्ष नवीन थापा मगरले सबैको सल्लाह सुझाव अनुसार व्यवसायीहरूको हक, हित र अधिकारका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सङ्घको अध्यक्षमा नवीन थापा मगर, वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा सुदिश साहा, उद्योग उपाध्यक्षमा आकाश रिजाल, महासचिवमा कुमार श्रेष्ठ, सचिवमा यज्ञराज सुवेदी, कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम), आजीवन सदस्यमा प्रमोद कुमार श्रेष्ठ निर्वाचित हुनुभएको थियो । यस्तै, सङ्घको सदस्यमा अर्विन कुमार श्रेष्ठ, राजु श्रेष्ठ (विजय), वासुदेव फुयाँल, श्याम कुमार श्रेष्ठ र हरे राम क्षेत्री निर्वाचित हुनुभएको थियो ।
रामेछाप उद्योग वाणिज्य सङ्घका नव निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण
- प्रकाशित मिति: बुधबार, चैत्र १ २०७९
- तामाकोशी