रामेछाप । रामेछापका स्थानीय तहहरू आन्तरिक श्रोत राजस्व सङ्कलनमा कमजोर देखिएका छन् । जिल्लामा रहेका दुई नगरपालिका र आठ वटा गाउँपालिकाले यो वर्षको ८ महिनाको अवधिमा गरेको राजस्व सङ्कलन लक्ष्य भन्दा निकै कम छ । जिल्लाका सबै पालिकाहरूले राजस्व सुधारका लागि आवश्यक योजना बनाएर गर्नुपर्ने कार्यान्वयन लगायत काम गर्न नसक्दा यो वर्ष आफ्नो लक्ष्य अनुसारको राजस्व असुली नहुने सम्भावना बढेको छ । खास गरी जिल्लाको गाउँपालिकाले आन्तरिक आय अभिवृद्धि गर्नेतर्फ पर्याप्त ध्यान पु¥याउन सकेका छैनन् ।
चालु आर्थिक वर्ष २०७९÷०८० मा जिल्लाका सबै पालिकाहरूले आन्तरिक श्रोत राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले यो वर्ष मालपोत कार्यालयबाट सङ्कलन हुने ९० लाख रुपियाँ सहित ४ करोड ६३ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । तर नगरपालिकाकाले यो वर्षको ८ महिना बितिसक्दा पनि मालपोतबाट सङ्कलन हुने ९० लाख रुपियाँ कटाएर सङ्कलन हुनुपर्ने ३ करोड ७३ लाख रुपियाँ लक्ष्यको ३६ प्रतिशत पनि राजस्व सङ्कलन गर्न सकेको छैन । मन्थली नगरपालिले अहिलेसम्म एक करोड ३३ लाख १२ हजार ४४७ रुपियाँ राजस्व सङ्कलन गरेको नगरपालिकाको राजस्व उपशाखाका दिलकुमार मानन्धरले बताउनुभयो ।
मन्थली नगरपालिकापछि रामेछाप नगरपालिकाले पनि गत माघ महिनासम्म लक्ष्यको ४२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले यो वर्ष एक करोड ८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा गत माघ महिनासम्म ४५ लाख ८८ हजार ६२९ रुपियाँ राजस्व सङ्कलन गरेको नगरपालिकाको राजस्व शाखा प्रमुख हरिभगत श्रेष्ठले बताउनुभयो ।
यस्तै, जिल्लाको उमाकुण्ड गाउँपालिकाले भने लक्ष्यको झन्डै ४३ प्रतिशत सङ्कलन गरेको छ । गाउँपालिकाले यो वर्ष ५२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म २२ लाख रुपियाँ राजस्व सङ्कलन भएको गाउँपालिकाकी उपाध्यक्ष एवं स्थानीय राजश्व परामर्श समितिकी संयोजक सावित्री सुनुवारले बताउनुभयो । लिखुतामाकोशी गाउँपालिकाले आठ महिनामा लक्ष्यको २६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाका अनुसार यो वर्ष ५० लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म १३ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।
जिल्लाको सुनापति गाउँपालिकाले अहिलेसम्म लक्ष्यको ३७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले यो वर्ष ३० लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ११ लाख ३२ हजार ६८ रुपियाँ मात्रै राजस्व सङ्कलन गरेको छ । जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकाले आठ महिनामा जम्मा ४३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले यो वर्ष ५५ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म २३ लाख ९६ हजार रुपियाँ राजस्व सङ्कलन भएको गाउँपालिकाका श्रम संयोजक भोला पाठकले बताउनुभयो ।
खाँडादेवी गाउँपालिकाले यो वर्ष ६ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म २ करोड ९२ लाख ९ हजार ७९९ रुपियाँ मात्रै सङ्कलन गरेको गाउँपालिकाका सूचना अधिकारी ओमप्रकाश श्रेष्ठले बताउनुभयो ।
राजस्व सङ्कलनमा रामेछापका स्थानीय तह कमजोर
- प्रकाशित मिति: मंगलबार, फाल्गुन ३० २०७९
- तामाकोशी