रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले पालिकामा स्थानीय अदालतका रूपमा रहेको न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउँदै लगेको छ । गाउँपालिकाले स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानका लागि बनेको न्यायिक समितिको कामलाई नागरिक मैत्री र प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । गाउँपालिकाले न्यायिक समितिको न्याय सम्पादनलाई प्रभावकारी र विश्वसनीय बनाउनका लागि ७ वटै वडामा रहेको मेलमिलाप केन्द्रहरूको अनुगमन, मूल्याङ्कन गरी मेलमिलाप कर्ताहरूलाई थप सक्रिय बनाउन लागि परेको छ । जसका कारण न्यायिक समिति ९६ प्रतिशत स्थानीय स्तरमा उत्पन्न विवादको समाधान गर्न सफल भएको छ । यो वर्षको हालसम्म गाउँपालिकामा ९३ वटा स्थानीय विवाद भएकोमा ९० वटा विवाद मिलाउन न्यायिक समिति सफल भएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को हालसम्म ९३ वटा विवादहरू आएकोमा अब तीन वटा विवाद मात्रै समाधान गर्न बाँकी रहेको गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक सावित्री सुनुवारले बताउनुभयो । ‘अहिलेसम्म वडाका स्थानीय मेलमिलाप केन्द्रबाट ७९ वटा र सिधै न्यायिक समितिमा १४ वटा गरी ९३ वटा विवादहरू दर्ता भएका छन्, जसमा ९० वटा विवादहरू समाधान भइसकेका छन्, अब वडा तहबाट न्यायिक समितिमा आएका तीन वटा विवादहरू समाधानको प्रक्रियामा छन्’,उहाँले भन्नुभयो । न्यायिक समितिले सबै वडामा परिचालित मेलमिलाप संयोजक तथा मेलमिलाप कर्ताहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरू सञ्चालन गरिरहेको छ । न्यायिक समितिले गाउँपालिकाको ७ वटै वडामा रहेका स्थानीय मेलमिलाप कर्ताहरूलाई यो वर्ष ८ दिनको मेलमिलाप सम्बन्धी तालिम प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक सुनुवारले बताउनुभयो । ‘गाउँपालिकामा स्थानीय अदालतका रूपमा स्थापित न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउँदै लगेका छौँ, आधारभूत तालिम मेलमिलाप केन्द्रहरूको अनुगमन, मूल्याङ्कन जस्ता कार्यक्रमहरूलाई जोड दिएका छौँ’,उहाँले भन्नुभयो । उहाँका अनुसार सर्वसाधारणलाई न्यायिक समितिको काम, कर्तव्य, अधिकार सम्बन्धी जानकारी सहितको कानुनी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ । ‘नेपालको संविधान २०७२ को धारा २१७ अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा न्यायिक समितिको न्यायिक कार्यविधिको व्यवस्था गरिएको छ, सोही ऐन अनुसार न्यायिक समितिले मेलमिलापका माध्यमबाट विभिन्न १२ थरिका विवादहरू समाधान गरिरहेको छ’, उहाँले भन्नुभयो ।
उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिमा आएका ९६ प्रतिशत विवाद समाधान
- प्रकाशित मिति: बिहिबार, फाल्गुन २५ २०७९
- तामाकोशी