रामेछाप । निर्माण व्यवसायी सम्पर्क बिहिन भएपछि रामेछापको मन्थलीमा ६ महिनादेखि अलपत्र बनेको मन्थली अस्पताल निर्माणको काम सुरु भएको छ । २० प्रतिशत पनि काम नसकी निर्माण व्यवसायी सम्पर्क बिहिन भएपछि उक्त अस्पतालको काम गएको असार पहिलो हप्ताबाट रोकिएको थियो । तर निर्माणको जिम्मा लिएको लाल शुभ मेन्द्रो जेभी सम्पर्कमा नआएपछि उसको पार्टनर निर्माण कम्पनी गाल्वाले एक महिना अगाडीबाट अस्पताल निर्माणको काम सुरु गरेको हो । अहिले अस्पताल निर्माण अन्तरगत ढलानको काम भइरहेको इन्जिनियर सरोज कुमार साहाले बताउनुभयो । ‘अहिले अस्पताल निर्माणको काम प्रगति मूलक ढङ्गले भइरहेको छ, यही गतिमा काम भएमा अबको एक वर्षमा अस्पताल निर्माण सम्पन्न हुन्छ’, उहाँले भन्नुभयो । लामो समयसम्म अस्पताल निर्माणको काम अलपत्र पारेर पार्टनर कम्पनी लाल शुभ मेन्द्रो जेभी सम्पर्कमा नआएपछि अहिले निर्माण कम्पनी गाल्वा एक्लैले काम अगाडी बढाएको निर्माण व्यवसायी सजन श्रेष्ठले बताउनुभयो । ‘अस्पताल निर्माण बनाउन श्री गाल्वा÷लाल शुभ मेन्द्रो जेभी काठमाडौँले मिलेर ठेक्का लिएको भए पनि निर्माणको जिम्मा लाल शुभ मेन्द्रोले लिएको थियो, तर काम अलपत्र पारेर लाल शुभ मेन्द्रो जेभी सम्पर्क बिहिन भएपछि ६ महिनापछि गाल्वाले काम अगाडी बढाएको हो’, उहाँले भन्नुभयो । निर्माणको जिम्मा लिने गाल्वा र सरोकारवाला निकायसँग समन्वय गरेर पुस अन्तिमबाट रोकिएको काम सुरु गरिएको उहाँको भनाइ छ । १५ शय्याको मन्थली अस्पताल श्री गाल्वा÷लाल शुभ मेन्द्रो जेभी काठमाडौँले २० प्रतिशत पनि काम नसकी गत असारबाट अलपत्र छाडिदिएको थियो । गत असारमा प्रक्रिया मिलाएर सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापबाट दुई करोड ९० लाख १५ हजार बढी भुक्तानी लिएपछि लाल शुभ मेन्द्रो जेभी सम्पर्क विहीन भएको थियो । ६ महिना काम बन्द भएर फेरी सुरु भएको अस्पताल निर्माणको कामलाई गति दिन निर्माण कम्पनीलाई ताकेता गरिएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । ‘अहिले निर्माणको ठेक्का लिने पाट नर कम्पनी गाल्वाले काम सुरु गरेको छ, ठेकेदार सम्पर्कमा नआउँदा लामो समय अस्पतालको काम रोकियो, अब अस्पताल निर्माणको कामलाई गति दिन नगरपालिकाले ताकेता गरिरहेको छ’, उहाँले भन्नुभयो । २०७९ मङ्सिरसम्म निर्माण सम्पन्न गर्ने गरी श्री गाल्वा÷लाल शुभ मेन्द्रो जेभी काठमाडौँसँग २०७८ जेठ ३० गते अस्पताल निर्माणको सम्झौता भएको थियो । बागमती प्रदेश सरकारको लगानीमा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछाप मार्फत नौ करोड, ३२ लाख, ५० हजार ९८६ रुपियाँमा बन्ने गरी ठेक्का सम्झौता भएको थियो । यो अस्पतालको २०७८ भदौ १० गते शिलान्यास भएको थियो ।
