रामेछापको सुनापति गाउँपालिकामा मेलमिलाप तालिम सुरु

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन ९ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले मेलमिलाप सम्बन्धी आधारभूत तालिम गाउँपालिकाको केन्द्रमा मंगलबारबाट सुरु गरेको छ । आठ दिनसम्म चल्ने सो तालिम गाउँपालिका उपाध्यक्ष गीता विष्टको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङको प्रमुख आतिथ्ययतामा उद्घाटन भएको हो । गाउँपालिकाको आयोजना र कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र ९ सेलर्डको सहजिकरणमा कार्यक्रम सञ्चालन भएको हो । तालिममा गाउँ पालिकाको न्यायिक समितिका सदस्यहरू तथा पाँच वटै वडाबाट छानिएका मेलमिलापकर्ताको सहभागिता रहेको छ । तालिममा मेलमिलापको आधारभूत विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । मेलमिलापकर्ताले वडा स्तरमा रहेका मेलमिलाप केन्द्रमा रहेर मेलमिलापको काम गर्ने छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले स्थानीय स्तरका समस्या स्थानीय स्तरमा नै छिटो समाधान हुन् भनेर कार्यक्रम मेलमिलापकर्ता उत्पादन गर्न तालिम आयोजना गरिएको बताउनुभयो । दुवै पक्षको जीत जीत हुने गरी मेलमिलाप गराउनु जस्तो न्याय अरू कुनै नहुने उहाँको भनाइ छ । दक्ष र योग्य मेलमिलापकर्ता स्थानीय स्तरमा सम्मानित व्यक्तित्व हुन उहाँले प्रष्ट पार्नुभयो । गाउँपालिका उपाध्यक्ष गीता विष्टले गाउँका समस्या स्थानीय स्तरमा नै समाधानको निमित्त योग्य व्यक्ति बनाउन तालिम आयोजना गरिएको बताउनुभयो । सुनापति–२ का वडाध्यक्ष पदम थापा मगर, सहजकर्ता अधिवक्ता पाण्डव प्रसाईँ लगायतले तालिम सफलताका शुभकामना दिनुभएको थियो । कार्यक्रमका सहभागीलाई न्यायिक समितिका सदस्य चन्द्रबहादुर तितुङले स्वागत गर्नुभएको थियो । तालिमको सहजीकरण सेलर्डका प्रशिक्षक नवराज पथिक र पाण्डव प्रसाईँले गरिरहनुभएको छ ।