रामेछापमा राष्ट्रिय परिचयपत्रका लागि ८० हजारको विवरण सङ्कलन

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन ५ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा राष्ट्रिय परिचयपत्रका ८० हजार बढी नागरिकको फोटो सहित आफ्नो व्यक्तिगत विवरण दिएका छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा वडा तहमै विवरण सङ्कलन गर्ने अभियान सुरु गरेसँगै परिचयपत्रका लागि विवरण दिनेको सङ्ख्या ह्वातै बढेको हो । जिल्लाको दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तह रहेको रामेछापको अहिलेसम्म पाँच वटा पालिकाका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि फोटो सहित व्यक्तिगत विवरण सङ्कलन गर्ने कार्य सकिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो ।
‘मन्थली र रामेछाप नगरपालिका, सुनापति, दोरम्बा सैलुङ र खाँडादेवी गाउँपालिकामा वितरण सङ्कलन कार्य सकिएको छ, उमाकुण्ड, गोकुलगंगा र लिखुतामाकोशी गाउँपालिकामा पनि यही महिनासम्म सक्ने गरी धमाधम विवरण सङ्कलन भइरहेको छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार जिल्लामा अहिलेसम्म ८० हजार भन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन विवरण भरी फोटो खिचाएका छन् ।
प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार झन्डै तीन महिनाको अवधिमा जिल्लाका ५५ हजार बढी नागरिकको राष्ट्रिय परिचयपत्रको लागि फोटो सहितको विवरण सङ्कलन गरिएको छ । ‘परिचयपत्रका लागि ३५ वटा टोलीले विवरण लिने काम गरिरहेको छ, अहिलेसम्म स्थानीय तहबाट ५५ हजार बढी र जिल्ला प्रशासन कार्यालयबाट २४ हजार बढीले परिचयपत्रका लागि फोटो सहित विवरण दिएका छन्’,उहाँले भन्नुभयो । परिचयपत्रका लागि रामेछापबाट करिब एक लाख व्यक्ति पुग्ने जिल्ला प्रशासन कार्यालयको अनुमान छ ।
आठ स्थानीय तहको ६४ वटा वडा रहेको रामेछापमा २०७७ साउन १ गते बिहीबारबाट राष्ट्रिय परिचयपत्रका लागि स्थायी विवरण दर्ता कार्यको सुरु भएको थियो । तर हालसम्म पनि विवरण भरेकाहरूले परिचयपत्र भने प्राप्त गर्न सकेका छैनन् । लामो समयसम्म सुस्त गतिमा अघि बढेको परिचयपत्रका लागि विवरण सङ्कलनको कामले अहिले भो गति लिएको छ ।