रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले पत्रकारिता क्षेत्रलाई संस्थागत रूपमा अघि बढाउन जरुरी रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल रामेछापले आइतबार मन्थलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले पत्रकारिता क्षेत्र संवेदनशील हुन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रतिशोधको भावनाले पत्रकारिता क्षेत्र अघि बढ्न नसक्ने समेत बताउनुभयो । समृद्ध नेपाल निर्माणको लागि व्यावसायिक पत्रकारिता जरुरी रहेको उहाँले बताउनुभयो । स्थानीय सरकारले गरेका राम्रा काम नागरिक समक्ष पु¥याउन र कमजोरी भए सल्लाह सुझाव दिन उहाँले पत्रकारलाई आग्रह गर्नुभयो । व्यक्तिगत र संस्थागत विकास नभएसम्म विधि र प्रक्रियागत रूपमा अघि बढ्न नसकिने उहाँले बताउनुभयो । मन्थली नगरपालिका सधैँभरि पत्रकारिता क्षेत्रसँग सद्भाव, सहकार्य र सहयोगी भावका साथ अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । यसको लागि पत्रकारलाई पनि स्पष्ट धारणा सहित आउन उहाँले आग्रह गर्नुभयो ।
पत्रकारिता क्षेत्रलाई संस्थागत रूपमा अघि बढाउन जरुरी : लब श्रेष्ठ
- प्रकाशित मिति: आइतबार, माघ २२ २०७९
- तामाकोशी