रामेछापमा भूकम्पले क्षति भएका ४१४ विद्यालय भवन पुनर्निर्माण सम्पन्न

  • प्रकाशित मिति: बुधबार, माघ १८ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीमा रहेको शतलिङ्गेश्वर माध्यमिक विद्यालयको भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । २०७२ सालको महाभूकम्पले क्षति भएको विद्यालयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) मार्फत पुनर्निर्माण भएको हो । उक्त विद्यालय भवन केही दिन अघि हस्तान्तरण गरिएको हो । यस्तै, जिल्लाको दोरम्बा सैलुङ गाउँपालिका–३ टोरकपुरमा रहेको श्री कण्ठेश्वर माध्यमिक विद्यालयको भवन पनि पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति गरेपछि पुनर्निर्माण गरिएको उक्त विद्यालय भवन पनि केही दिन अघि हस्तान्तरण गरिएको हो । हस्तान्तरण भएका यी दुई वटा सहित रामेछाप जिल्लामा भूकम्पले क्षति भएका ४१४ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेका छन् । हालसम्म भूकम्पले क्षति भएका ४१४ वटा विद्यालय पुनर्निर्माण सम्पन्न भएको र अहिले केही विद्यालय भवन पुनर्निर्माणको काम भइरहेको शिक्षा विकास तथा समन्वय इकाई रामेछाप प्रमुख भरत भट्टराईले बताउनुभयो । ‘जिल्लामा भूकम्पले क्षति भएका २७८ वटा विद्यालय विद्यालय व्यवस्थापन समिति, ५१ वटा निर्माण व्यवसायी र ८५ वटा विद्यालय भवनको विभिन्न गैरसरकारी संस्था मार्फत पुनर्निर्माण भई हस्तान्तरण भइसकेका छन्, अब एसियाली विकास बैङ्क मार्फत पुनर्निर्माण हुनुपर्ने केही विद्यालयको काम भइरहेको छ’, उहाँले भन्नुभयो । २०७२ सालको महाभूकम्पले रामेछापका ४१९ वटा विद्यालयमा क्षति पु¥याएको थियो । रामेछापमा नेपाल सरकारबाट विद्यालय व्यवस्थापन समिति मार्फत ३६३, नर्वे सरकारको सहयोगमा यूएनओपीएस मार्फत १३, भारत सरकारको आर्थिक सहयोगमा ९, एसियाली विकास बैङ्कको सहयोगमा १७ र ट्रान्सपरेन्सी इन्टरनेशनल रामेछापसँगको समन्वयमा विद्यालय व्यवस्थापन समिति मार्फत दुई वटा विद्यालय पुनर्निर्माण हुनुपर्ने हो ।