रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले पालिका स्तरीय बजार मूल्य सूचि तय गरेको छ । गाउँपालिकाले सरोकारवालासँग छलफल गरी पालिका भित्र खरिद, बिक्री हुने सामाग्रीको मूल्य सूची माघ १ गते आइतबारबाट लागु हुने गरी कार्यपालिका बैठकले स्वीकृत समेत गरेको छ । गाउँपालिकाको वडा नं १ गुम्देल देखि वडा नं ७ भुजी सम्मका सरोकारवालाहरूसँग आवश्यक छलफल गरेर गाउँपालिकाले होटेल, व्यवसाय, मासु जन्य वस्तुहरू, दुग्ध जन्य बस्तुहरू र कृषि उपजको मूल्य निर्धारण गरिएको गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले बताउनुभयो । बजार अनुगमनका क्रममा पालिकाभित्र सञ्चालित पसल तथा होटलहरुमा एउटै सामानको मूल्य फरक फरक लिइएको पाइएको र यसका बारेमा उपभोक्ताहरूको गुनासो आएकाले मूल्य सूचीमा एक रुपता ल्याउने उद्देश्यले गाउँपालिकाले मूल्य सूचि निर्धारण गरेको उपाध्यक्ष सुनुवारले बताउनुभयो ।
गाउँपालिकाले निर्धारण गरेको मूल्य सूचि अनुसार अब ग्राहकले होटेलमा एक रात सुतेको (एटेज बाथरुम सहित) डबल कोठाको पाँच सय तिर्नुपर्ने छ भने सिङ्गलमा सात सय तिर्नु पर्ने छ । त्यस्तै गाउँपालिका भित्रका होटलहरुमा सादा खानाको १५० रुपैयाँ, ढिँडो च्याँख्ला (सादा) खानाको १५० नै तिर्नु पर्ने छ । गाउँपालिकाले खसीको मासु प्रति केजी ८००, बोइलर कुखुराको मासु ४००, गिरिराज कुखुराको मासु ६००, स्थानीय लोकल कुखुराको मासु १०००, माछा ४००, राँगाको मासु ४०० र बङ्गुर को मासु प्रति केजी ४०० रुपैयाँ निर्धारण गरेको छ । यस्तै चौँरी गाईको दूध प्रति लिटर १२०, गाई भैँसीको दूध ८०, चौँरीको घिउ लिटरको ११०० र भैँसी गाइको घिउ लिटरको १००० रुपैयाँ निर्धारण गरेको छ ।
उमाकुण्ड गाउँपालिकाद्वारा बजार मूल्य सूचि निर्धारण
- प्रकाशित मिति: शनिबार, पुष ३० २०७९
- तामाकोशी