रामेछाप । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घले यो पटक आफ्नो सदस्यता शुद्धीकरणमा जोड दिने बताउनुभएको छ । पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापमा पत्रकार भेटघाट गर्दै अध्यक्ष पोखरेलले निर्वाचित जनप्रतिनिधिहरू, वैदेशिक रोजगारीमा गएका, सरकारी स्थायी जागिरे, सेना प्रहरी भएका सदस्यहरूको आँखा चिम्लेर नवीकरण नगर्न जिल्ला शाखा रामेछापलाई निर्देशन दिनुभयो । सदस्यता शुद्धीकरणका बारेमा विभिन्न राजनीतिक दलमा आबद्ध पेसागत सङ्गठनको नेतृत्वसँग पटक पटक आवश्यक छलफल भएको र सबै पेसागत सङ्गठनको नेतृत्व यो बिषयमा सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘राजनीतिक दलमा आबद्ध पेसागत सङ्गठनका नेतृत्व पत्रकार महासङ्घको सदस्यता शुद्धीकरण गर्ने विषयमा तयार हुनुहुन्छ । उहाँहरूले कति सम्म भन्नु भएको छ भने कुनै जिल्लामा आफ्नो सङ्गठनको अध्यक्ष अथवा कुनै पदाधिकारीले दुई चार जना घुसाउने नाममा अडान लिन्छ भने हामीलाई भन्नुस् के गर्नु पर्ने हो हामी गछौँ । नेपाल पत्रकार महासङ्घको विधान भन्दा बाहिर गएर सदस्यता नदिने र नवीकरण नगर्ने कुरामा सहयोग गर्ने पेसागत सङ्गठनको एउटै स्वर रहेको उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलले पत्रकार महासङ्घको केन्द्र तथा प्रदेशले गरेको परिपत्र तथा निर्देशनहरूलाई कार्यान्वयन गर्दै आवश्यक कदम चाल्न र निर्णय गर्न रामेछाप शाखालाई निर्देशन दिनुभयो ।
पत्रकार महासंघले सदस्यता शुद्धीकरणमा जोड दिएको छ : अध्यक्ष पोखरेल
- प्रकाशित मिति: शुक्रबार, पुष २९ २०७९
- तामाकोशी