रामेछापमा यो वर्ष किवीको उत्पादन बढ्यो : गत वर्ष भन्दा ५७ मेट्रिक टन बढी उत्पादन

  • प्रकाशित मिति: बिहिबार, पुष २१ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा यो वर्ष किवी उत्पादनमा वृद्धि भएको छ । रोग किराको न्यून असर, फूल फुल्ने समयमा हावाहुरीबाट कम क्षति हुनु र पुराना बगैँचाको केही हदसम्म व्यवस्थापन भएकोले यो वर्ष जिल्लामा किवी उत्पादन बढेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७७÷०७८ मा भन्दा यो वर्ष ५७ मेट्रिक टन बढी किवी फलेको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले बताउनुभयो । उहाँका अनुसार जिल्लाको २०४ हेक्टर क्षेत्रफलमा भएको किवी खेती विस्तार भई उत्पादनशील ५७ हेक्टर क्षेत्रफलबाट ८.१ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व कायम भएर यो वर्ष ४६२ मेट्रिक टन उत्पादन भएको छ । जुन गत वर्षको उत्पादकत्व भन्दा ७.१ मेट्रिक टन प्रति हेक्टर उत्पादन भई ५७ मेट्रिक टन बढी हो । गत वर्ष जिल्लामा ४०५ मेट्रिक टन किवी उत्पादन भएको थियो । जिल्लाको दोरम्बा सैलुङ, सुनापति, गोकुलगङ्गा, उमाकुण्ड गाउँपालिका विभिन्न वडाहरूमा किसनाहरुले किवीको खेती गरिरहेका छन् । किवी खेती प्रवर्द्धनका लागी कृषि ज्ञान केन्द्र, र स्थानीय पालिकाबाट पनि किसानहरूलाइ आवश्यक सहयोग प्रदान भइरहेको गुरुङले बताउनुभयो । किवी एकै पटक टिपेर लैजानुपर्ने भएकोले पनि बजारमा उचित मूल्य नपाएको किसानहरूmको गुनासो आएको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख गुरुङको भनाइ छ । फलको गुणस्तर लाई ध्यान नदिई किसानहरूmले बढी मूल्य पाउने आशामा पाक्ने समय भन्दा अगाडि नै फल टिप्ने गरेकाले किवी फलमा हुने मिठासमा कमी हुँदा पनि उपभोक्ता किवी किन्न हिचकिचाउने गरेको र किसानहरूm पनि मारमा पर्ने गरेको प्रमुख गुरुङको भनाइ छ । बजारमा सोचेजस्तो भाउ नपाएकाले उत्पादित किवीलाई स्थानीय सरकार तथा सरोकारवाला निकायले सुरक्षित भण्डारणको व्यवस्था मिलाएर चैत, वैशाखको समयमा बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने किवी उत्पादक किसानहरूको माग छ । किवी प्रवद्धर्नको लागी आगामी दिनमा फलको टिप्ने अवस्था, फलको सुरक्षित भण्डारण, फलको ग्रेडिङ, प्याकेजिङ तर्फ केन्द्रित कार्यक्रम आवश्यकता रहेको किसानहरूको माग छ ।