रामेछाप । रामेछापको मन्थली नगरपालिकाले भू–उपयोग नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । नगर कार्यपालिकाको बैठकले भू–वर्गीकरणको कामलाई तीव्रता दिने निर्णय गरेको छ । बैठकले यसको लागि वडा स्तरीय भू–उपयोग समिति गठन गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले नगरपालिकाका विभिन्न विद्यालयमा सञ्चालित सिकाई उपलब्धि मूल्याङकन र शिक्षकहरूलाई पृष्ठपोषण कार्यक्रम नगरपालिकाका सबै विद्यालयमा पु¥याउने निर्णय समेत गरेको छ ।
यसै गरी मन्थली नगरपालिकाका वडा नं ७ र ८ को सिमानामा निर्माण हुने फोहोर मैला प्रशोधन केन्द्र (ल्याण्ड फिल्ड साइड) का लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाउन निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ । वडामा रहेका मेलमिलाप केन्द्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नको लागि आवश्यक कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय बैठकले गरेको छ । नगरपालिकाको आन्तरिक राजस्व वृद्धिका लागि जारी भएको राजश्व सुधार कार्ययोजना २०७८ लाई प्रभाकारी कार्यान्वयनमा ल्याउने, मन्थली–९ को थानापति महादेवस्थानलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गुरुयोजना बनाउने लगायतका निर्णय पनि बैठकले गरेको छ । बैठक थानपति महादेवस्थानको प्रवर्धनको लागि सोही मन्दिर परिसरमा आयोजना गरिएको थियो ।
मन्थली नगरपालिकाको वडा स्तरमा भू–उपयोग समिति
- प्रकाशित मिति: मंगलबार, पुष १९ २०७९
- तामाकोशी