सुनकोसीमा रातको समयमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो

  • प्रकाशित मिति: शुक्रबार, पुष १५ २०७९
  • तामाकोशी

रामेछाप । हरेक वर्ष असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने व्यवस्था छ । अन्य समयमा पनि स्थानीय तहले लगाउने व्यवस्थित ठेक्कामार्फत वा आवश्यक राजस्व बुझाएरै मात्रै उत्खनन र निकासी गर्न पाइन्छ । तर रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम खैरेनी स्थित सुनकोसी नदीमा रातको समयमा एक्स्काभेटर नै लगाएर नदीजन्य पदार्थ (ढुङ्गा, गिटी बालुवा)को उत्खनन गरी तस्करी बढीरहेको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुम खैरेनी स्थित सुनकोसी नदीमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन र चोरी भइरहेको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि टेन्डर आह्वान गरेको तर यहाँ रातको समयमा टेन्डर नभएको ठाउँमा एक्स्काभेटर नै लगाएर नदीजन्य पदार्थको तस्करी भइरहेको उहाँले बताउनुभयो । विहीबार राति नदीजन्य पदार्थ उत्खनन गरी चोरी गरिरहेको अवस्थामा दुई वटा एक्स्काभेटर र तीन वटा ट्रीफर नियन्त्रण लिई प्रहरीलाई बुझाएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । रातको समयमा नदीजन्य पदार्थ तस्करी भएको भन्ने विषयमा जिल्ला प्रशासनले आवश्यक छानबिन गरिरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो । यसका बारेमा आइतबार सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक प्रक्रिया अगाडी बढाइने उहाँले बताउनुभयो ।



जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले रातको समयमा नदीजन्य पदार्थको तस्करी हुने गरेको भन्ने जानकारी आएकाले जिल्ला स्थित सरोकारवाला निकायसँग आवश्यक छलफल गरी तत्काल अनुगमन गरी आवश्यक प्रक्रिया अगाडी बढाउने उहाँले बताउनुभयो । अब नदीजन्य पदार्थको तस्करीलाई रोक्न स्थानीय तह, प्रहरी प्रशासन सबै जिम्मेवार भएर लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो । जिल्लाको विभिन्न स्थानमा यसरी रातको समयमा नदी जन्य पदार्थको तस्करी हुँदा राजस्व गुमिरहेको छ भने अर्कोतिर अव्यवस्थित उत्खननले चौतर्फी जोखिम बढाइरहेको छ ।