पाँच महिनामा खाँडादेवी गाउँपालिकाको १२.७० प्रतिशत बजेट खर्च

  • प्रकाशित मिति: बुधबार, पुष ६ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को ५ महिनामा जम्मा १२.७० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । गाउँपालिकाले यो अवधिमा ७३ करोड ३१ लाख ८४ हजार ७९७ रुपियाँ ८६ पैसा बजेटको जम्मा १२.७० प्रतिशत अर्थात् ९ करोड ३१ लाख २९ हजार ७९३ रुपियाँ २९ पैसा मात्रै बजेट खर्च गरेको हो । गाउँपालिकाले मङ्सिर महिनासम्म चालु तर्फ ४५ करोड १ लाख २७ हजार ७९३ रुपियाँ ८६ पैसा बजेटमा १९.१४ प्रतिशत अर्थात् ८ करोड ६१ लाख ९४ हजार ७६२ रुपियाँ ५५ पैसा बजेट खर्च गरेको गाउँपालिकाका लेखा अधिकृत विजय लुइँटेलले बताउनुभयो । उहाँका अनुसार यो अवधिमा गाउँपालिकाले पुँजीगत तर्फ २८ करोड ३० लाख ५७ हजार ४ रुपियाँ बजेट रहेकोमा २.४५ प्रतिशत अर्थात् ६९ लाख ३५ हजार ३० रुपियाँ ७४ पैसा मात्रै बजेट खर्च भएको छ । निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका कारणले उपभोक्ता समितिहरू बन्न र योजना सम्झौता हुन ढिलाइ भएकाले गाउँपालिकाको प्रगति कम देखिएको लेखा अधिकृत लुइँटेलले बताउनुभयो । आर्थिक वर्षको ५ महिनाको अवधिमा गाउँपालिकाको प्रगति जम्मा १२.७० प्रतिशत मात्रै हुनु राम्रो नभएकाले कामलाई गति दिने गरी गाउँपालिका लागिपरेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । उहाँले गाउँ कार्यपालिकाको १०६ औँ बैठक राखेर यस विषयमा आवश्यक छलफल गरी सबै वडा तथा सरोकारवाला निकायलाई आवश्यक निर्देशन समेत दिइसकिएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष श्रेष्ठले गाउँपालिकाको अहिलेसम्म ४१ करोड रुपियाँ बुरुज रहेकाले यसलाई घटाउने गरी काम गरिरहेको बताउनुभयो । गाउँपालिकाको ४१ करोड बेरुजु आएको छ, बेरुजु आउनु भनेको अनियमित गरिएको होइन, तर यसमा गाउँपालिका गम्भीर छ, गाउँपालिका कसरी हुन्छ बेरुजु घटाउने अभियानमा लागेको उहाँले बताउनुभयो । स्थानीय तहको विकासका लागि आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता रहेकाले सोही अनुसार गाउँपालिकाले काम गरिरहेको बताउनुभयो ।